Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

लेख रचनाहेडलाइन

अब हामीले छाती फुकाएर गर्व गर्ने कि नगर्ने

सानै उमेरमा, लहैलहमा, २०३६ सालको बहुदलको हड्ताल हो रे भन्ने सुने पछि र जिन्दाबाद र मुर्दाबाद्को नारा लगाउदै आफ्नै ठुलो बुवाको पसलका मिठाइ बहुदले हरुले लुट्दै खादै गर्दा मैले पनि मिठाई खाएको राम्रो संग याद छ मलाई, तर आफ्नै ठुलो बुवाको पसल बाट लुटेको मिठाई खान हुन्न भन्ने त्यो सानो बच्चालाई के थाहा । हो , त्यति बेला नै राजनीतिको ‘र’ मैले कसरि जान्ने? तर रंग भने लागेछ।

सानै देखि अरु भन्दा चलाख बच्चा थिए रे म । पढाइमा औधी रुचि थियो क्यारे, किनकि बुवा आमा भन्नु हुन्थ्यो, पढे पछि ठुलो मान्छे बन्नेछस । ७ कक्षा मा पढ्दै थिए, मिडिल स्कुलको ठुलो कक्षा । हाइस्कुल थिएन , अलि माथि किहु बडहर भन्ज्यांगमा हाइस्कुल थियो , गाउमै नभएको हुनाले हाइस्कुल पढ्न अर्को बर्ष अलि गार्हो पर्ने भयो तर भाग्यबश हाम्रा हेडसर र एक समाजसेवीको पहलमा अर्को बर्ष देखि हाइस्कुल खुल्ने रे भन्ने खबरले एकाएक मलाइ हर्सित मात्र बनाएन बरु पढाइमा अब अब्बल बन्छु भने हिम्मत पनि आयो, अनि त्यस्तै भयो , ८ कक्षा सुरु गरे मैले।

जब हाइस्कुलको पढाइ सुरु भयो, मलाइ राजनीतिको रंग त लागीसकेको थियो भने अब माथी बडहर भंज्यान्गको हाइस्कुल ( सिद्दार्थ मा बी ) र हाम्रो स्कुलको बीचमा भलिबल प्रतियोगिता गर्ने भन्ने पहिलो खबर आयो , भलिबल टिम लिएर बडहर भन्ज्याङ्ग बाट बिद्यार्थी साथीहरु आउनुभयो , दिनभरी भलिबल खेलियो , जब भलिबल खेल सकियो तव ति साथीहरु हामीलाई त एका एक तान्दै खेत र बारीको कुना तिर लिएर जान थाल्नु भयो , म आश्चर्यमा पार्न थालें तर थाहा भयो यो भलिबल खेल्ने भनेको त हामीलाई अखिल बनाउने खेल रहेछ। म अलि बोल्न टाठो बाठो, म नै तारोमा परें। केहि साथी हरुको साथै म अगुवा देखिदो रैछु , अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गर्ने कुरो भयो , हामीलाई डर थियो , कम्युनिस्टको संगठन अरे भन्ने थियो , यो त बहुत खतरा अनि चाइनाको रे भन्ने कुरा सुनिन्थ्यो तर पनि हिम्मत निकालें मैले। खेल खेल्न आउने साथी हरु जानु भएको मात्रै के थियो म लगाएत हाम्रा साथी हरु लाइ बुवा आमाहरुले ‘ तँ त कम्निस्ट भईस रे’ भनेर गाली गर्ने र घर बाट लखेट्ने काम सुरु भयो। पछि बुझ्दा पो थाहा भयो , यो त त्यांही भएका केहि कांग्रेस हरुले हाम्रा सोझा बाउ आमाहरुलाई उल्क्याएका पो रैछन । यो थाहा पाए पछि अब त छोड्न हुन्न , अखिल हुनै पर्छ , अगाडी बढ्नै पर्छ भन्ने पक्का पक्कि भयो र बाउ आमा हरुलाई पनि सम्झाउन लागियो , अखिले राजनितीको यात्रालाइ निरन्तरता दिने निर्णय गरियो। साथै यसरी मेरो अनेरास्ववियुबाट राजनिती सुरु भयो। हो , म अलि टाठो पक्कै थिएँ। ८ कक्षा पढ्दै थिएँ ।एक दिन गोरु चराउदै स्वामी रह को चौताराको फेदमा आराम गर्दै थिएँ । हस्याङ्ग फस्याङ्ग गर्दै दुइ जना मान्छे मलाइ खोज्दै आए र सोधे ” तपाई युबराज हुनुहुञ्छ होइन ?” अनि मैले ” हो ” भनें । मैले पनि उँहाहरुको परिचय लिएँ ” प्रदिप र बसन्त ” भन्नु भयो र प्रदिप जी ले भन्नु भयो ” हामी नेपाल कम्युनिस्ट पार्टी, माले बाट। अनि हामी तपाइलाइ पार्टीको काम लगाउन जिल्ला बाट आएको भन्नु भयो , मैले सहमती जनाएँ। धेरै भलाकुसारी पछि उहाहरु जानु भयो । पहिलो पटक त्यस दिन देखि नै बडो सोचाइका साथ् मार्क्सबाद लेनिनबाद्को गहिरो अध्ययन संगै मैले आफुले आफैलाई कम्निस्ट हुँ भन्ने बनाएँ। यसरी मेरो नेपाल कम्युनिष्ट पार्टी को एक सिपाहीको यात्रा सुरु हुञ्छ ।

पार्टीका विभिन्न संगठन निर्माण र सुध्रिदीकरण कै सिलसिलामा एक दिन हाम्रो क्षेत्रको तत्कालिन प्रजातान्त्रीक राष्ट्रिय युवा संघ, नेपाल गठन गर्ने एक गोप्य गोष्ठी र प्रशिक्षण कै क्रममा मैले मेरा आदरणिय राजनितीका गुरु कमरेड टुकराज सिग्देल ( तत्कालिन तनहुँ क्षेत्र नं ३ पुर्व सांसद ) संग निर्धक्क सोधेको थिएँ ” कमरेड, यो साम्यवाद भनेको वास्तब मै के हो र कम्युनिष्ट क्रान्ती सफल भए पछि देशमा के हुञ्छ अनि जनताले के पाउछन ?” त्यती बेला सम्म कमरेड टुकराज सिग्देल पार्टीको निक्कै उचाइमा पुगी सक्नु भएको थियो। मेरो प्रश्नको जवाफमा कमरेडले बडो फराकिलो पारामा उत्तर दिनु भएको त्यो क्षण अहिले पनि ताजै लाग्छ।

“हामीले ल्याउने र शासन गर्ने ब्यबस्थामा अमन चयन हुनेछ, जनता सम्पन्न र सर्व शक्तिमान हुनेछन, विकास चरम बिन्दुमा पुग्नेछ जस्तो कि आजको युरोप बुझ्नोस , हाम्रा जनताले युरोपमा जस्तै चाहने बित्तिकै र चाहिने बित्तिकै रेल , गाडी ,जहाज पानी जहाज चढ्न सक्नेछन, युरोपियन जस्तै संसार आफ्नो इच्क्षाले घुम्न सक्नेछन्, जनतालाई देशले पूर्ण भरणपोषण गर्नेछ, हो, यो नै हाम्रो अन्तिम लक्ष हो।”

आधा विश्वमा भएको साम्यवादी शासन व्यबस्थाको सफल प्रयोग र तत्कालिन सोभियत संघ संग अत्तालिएका युरोपिय पुजिबादीहरुले पेरिस कम्युन मात्र बेहोरेनन् ,साम्यवादी सफल निती कै पाठ सिक्न बाध्य भए र आजको बैभवशाली दम्भ देखाउन सफल भएका छन्। मैले पाएको उत्तर यदि अति उत्तम थियो भने जुनसुकै बाटो बताइए पनि संसोधित र परिमार्जित हुदै के हामी साम्यवादी शासन ब्यबस्थामा पाइने अवसरको उपयोग पक्कै गर्न गराउन गैरहेका छैनौँ त ? मैले जाने अनुसार हाम्रो पुग्ने बिन्दु र पुजिबादीहरुको करिब एउटै हुन सक्छ तर बाटाहरु निश्चित रुपमा फरक थिए। नेपाली कम्युनिस्ट आन्दोलनले धेरै दशक पार गर्दै आज देशले कम्युनिस्ट हरुको सरकार मात्र पाएको छैन कि देश शान्ती , सुख र सम्बृद्दीको बाटोमा लागेको छ। विकासे ढोका हरु तिब्र गतिमा खोलिदैछन , जनताको बहुदलिय जनबादी क्रान्ती र त्यस नितीको सफल प्रयोग हुदै कम्युनिस्ट क्रान्ती सफल भैसकेको छ भने नेपाल बहुराष्ट्रिय लगानी योग्य भुमी बनिसकेको छ।

बास्तव मै नेपाल, हाम्रो पार्टी र मैले देखेको सपना साकार हुदै गरेको अवस्थालाई किमार्थ नकार्न सकिदैन। विश्व पुजीबादी र साम्राज्यबादी हैकम तथा घेराबन्दी लाइ तोड्दै उच्च राजनैतिक सफलता हासिल गर्नु र खुल्ला आर्थिक निती अवलम्बन गर्दै विश्वको मन जित्न सक्नुलाई कम्ति आंकलन गर्न मिल्दैन। हामीले साम्राज्यबाद, पुजीबाद र अर्ध सामन्तबादको शाख गिराइ दिएका छौँ। यद्धपी राष्ट्रिय अन्तरास्ट्रिय दवाब तथा चुनौतीको सामना गरिरहनु पर्ने कठिन परिस्थितीलाई हामी नकार्न सक्दैनौ। अति गरिवीको मानचित्रमा अंकित देशले अति बैभव देश संग प्रतिस्प्रधा गर्नु पर्ने वर्तमान अवस्थामा बिशेष गरि अन्तरिक मामला मै देशलाइ फसाई रहन उद्दत संगठित गिरोहलाइ परास्त नगरे सम्म हामीले सोचेको सम्बृद्दीको कल्पना सम्म पनि सकिदैन। देश निर्माण र राष्ट्रिय चासोका बिषयहरुमा बिरोधी मात्र होइनन कि बिद्रोही शक्ति समेतले हातेमालो गरेका उदाहरण हरु प्रसस्त भेटिञ्छन । धेरै सय बर्ष पहिले बिकसित भैसकेका युरोपका देशहरु नै यस उदाहरणका निम्ती काफी छन्। तर नेपालको सन्दर्भमा भने यसको ठिक उल्टो साबित हुदै गएको कुरा हालैमा भएका विकास बिरोधी स्वरहरुले प्रमाणित गर्दैछ। २५० बर्ष पुराना अभिलेखहरु पल्टाउन मात्र जिम्मेवारी पाएको सरकारबाट चौगुना बिकास किन गरेनन् भन्ने भ्रामक समाचार दिन तल्लिन विपक्ष र एक्काइसौ शताब्दीको ताजा स्वाद लिन आतुर जनता संग सम्झौता गर्न सक्नु सरकारको ठुलो उपलब्धी मान्न सकिञ्छ । चाहे सत्य साबित किन नहोस तर कहिले रेल त कहिले पानी जहाज , ग्यास वा काण्डै काण्डका बहानाबाजी मा खिसी तिउडी गरेर हुञ्छ कि जनता उचालेर हुञ्छ , प्रतिपक्षहरु ताण्डव नृत्य गरिरहेका छन्। अहिलेको सरकार वा प्रधानमन्त्री के पी ओली द्वारा विकास र सम्बृद्दीका लागी ल्याइएका प्रतिबद्दताहरु शत प्रतिशत असल र सही छन्। बिरोधी स्वर हरुलाई नै सापटी लिउँ भने के नेपालमा रेल, पानी जहाज सम्भव छैनन्? के हावाबाट बिजुली सम्भव छैन? के पाइप बाट ग्यास असम्भव छ? कुनै न कुनै बहानामा बिदेशिएका ५५ लाख युवा हरु मात्रै नभएर हप्ते पिच्छे विदेश शयर गर्ने कर्मचारी , नेता , ब्यापारीहरुले यसको प्रतक्ष्य उपभोग र अनुभव गरेर स्वदेश फर्केका छन्, राम्ररी जानेका देखेका बुझेका छन् तर तिनैले सब भन्दा ठुलो स्वरमा बिरोध गरिरहेका देख्दा मलाई धिक्कार लागेर आउछ । अझै धिक्कार लाग्छ, आफ्नो मातृ भुमीको वस्त्रको चिर हरण गरेर विभिन्न बहानामा अमेरिकामा बसेर सब भन्दा ठुलो सुविधाभोगी बन्ने कथित देश प्रेमी हरुको चित्कार सुन्दा त म युरोपमा बस्छु भन्न पनि लाज लाग्न थालेको छ।

हो, हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यु पक्कै पनि विदेश भ्रमण गर्नु भएको छ अरु पात्रहरु जस्तै। तर उहा प्रधानमन्त्रीको रुपमा मात्रै होइन कि जनता बनेर पनि । जनता भएर अम्स्तर्डम , नेदर्ल्यान्द्सको भ्रमण गर्दा उहा जनताको घरमा बस्नु भएको छ र खाना खानु भएको छ, यहाको चुल्हो कसरि बल्छ , बत्ति कसरी बल्छ , उहालाई राम्ररी थाहा छ। पानी जहाज कसरी चल्छ उहालाई राम्ररी थाहा छ । तर म एक दिन देशको बागडोर हातमा लिएर जनतालाई यस्तै यस्तै दिन्छु , यस्तै बनाउछु भनेर फर्कनु भयो होला जुन अति सजिलै गर्न सकिञ्छ। आज भाग्यवस देशले उहालाई रोजेको छ ,खोजेको छ र भरोशा गरेको छ तर दुर्भाग्य केहि समूह जो अति जानकार छ , यो सम्भव छैन त्यो सम्भव छैन भन्दै घेराबन्दी गर्नमा ब्यस्त छ। कालान्तरमा राजनैतिक मुद्दाहरु अब किनारा लागी सकेका छन्, जनता केहि देख्न साच्चै आतुर छन् , इमान्दारिता पुर्वक भनौं भने विकास बिरोधी स्वर सुन्न जनता कत्ति पनि चाहदैनन्। तर विकास गरेर होइन कि बिकासका नारा मात्र भजाएर भागबण्डा लगाउदै खाएर हिड्ने भजन मण्डलीहरु जनता माथी शासन गर्दै आएका तत्व नै आज सबभन्दा पिडित भएको देख्दा साच्चै दया जागेर आउछ किनकि उसको अब जनतामा जाने मुद्दा नै समाप्त भएछ। जनयुद्द, राजनैतिक अन्योलता , अस्थायी सरकार र संक्रमणकाल को शिकार हुदै आएको देशलाई अब सहयोग गर्ने बेला आएको छ, सहयोग गर्न सकिन भने बिरोध र घेराबन्दी नगरौं।
हो, भ्रष्टाचार चरम चुलीमा छ तर नियन्त्रण र नियमन गर्ने कानुनका अभावमा भ्रष्टाचारीहरुले छुट पाइरहेका छन । कर्मचारीतन्त्र निकम्मा छ, जसले सेवाको जिम्मा लिएर बसेका छन् उसले सेवा दिन जान्दैन, तर घुस खान जानेको हुञ्छ। कमसेकम हामीले गर्व गर्नु पर्छ, भ्रष्टाचारको बिरोध गर्ने बेला आइसकेछ, अति भए पछि एक दिन खति अवश्य हुञ्छ। अब त भ्रष्टाचारीहरु कै घर भित्र बाट बिद्रोह हुञ्छ, समाजले दिनानु दिन तिनको पहिचान गरिरहेका छन् जसबाट तिनीहरु समाजबाटै बहिष्कृत हुनेछन।

दिन गुणा रात चौगुना विकास भैरहेको आजको युगमा असम्भव केहि छैन । अर्वौ खर्चेर किन्नु पर्ने प्रविधी हरु सित्तैमा पाइने युगमा सुचना र संचार प्रविधीले समेत कायापलट गरेको छ। तर आज मुटु मिचेर लेख्न मन लाग्छ, भन्न मन लाग्छ जुन लक्ष्यका लागी लडेका थियौं ,त्यहा पुग्न मेरो देशले समय लिदैछ भने मैले व्यक्तिगत रुपमा सम्पूर्ण सुबिधा लिदै दिनरात हिद्दैछु । तर गर्व गर्न मन लाग्छ निकट भविष्य मै मैले उपभोग गरेको बस्तु र कमरेड टुकराज सिग्देलले दिनु भएको मेरो प्रश्नको जवाफमा भएको सार जनताले छिट्टै पाउनेछन।

अब त हिजोका दिन रहेनन्, हामी आफै पनि सक्षम भैसकेका रहेछौँ र त यति लेख्ने र देशको लागी केहि दिऊँ कि भन्ने भएका छौँ। अब हामी साच्चै छाती फुकाएर गर्व गर्ने कि नगर्ने?

हेम कुमार
पुर्व बरिष्ठ उपाध्यक्ष,
प्रवाशी नेपाली मन्च, नेदर्ल्यान्ड्स्

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!