समाचारहरु

आज तमु ल्होसार पर्व मनाउँदै


गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यसअवसरमा आइतबार टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ।

यसैबीच, तमु ल्हाेसारकाे अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताएकी छन्।

नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएकी छन्।

तल प्रतिकृया दिनुहोस