Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुद

एक दिवसिय क्रिकेटमा नेपालको सनसनीपूर्ण जित

काठमाडौं, १९ साउन : नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछएको नेदरल्यान्ड्सलाई ५० ओभरमा अलआउट गर्दै २ सय १५ रनमा रोकेपछि नेपालले सनसनीपूर्ण जित हासिल गरेको छ।

नेपाल र नेदरल्यान्ड्बीचको दुई एक दिवसिय श्रृखंला १–१ को बराबरीमा टुंगिएको हाे । घरेलु टोलीविरुद्धको दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट नेपालले १ रनले जितेपछि दुई खेल बराबरीमा टुंगिएको हो । नेपालको एक दिवसिय डेब्यू खेलका रुपमा रहेको बुधबारको खेल नेपालले ५५ रनले गुमाएको थियो ।

जितको नजिक पुगेको नेदरल्यान्ड्सको अन्तिम विकेट कप्तान पारस खड्काले रन आउट गरेपछि नेपाल विजयी भएको थियो । अन्तिम बलमा नेदरल्यान्ड्सलाई जितका लागि २ रनको आवश्यकता थियो ।

नेदरल्यान्डका लागि वेस्ले वारेसीले सर्वाधिक ७१ रनको योगदान दिए । ड्यानियल टेर ब्राकले ३९ रन जोडे । पिटर सिलार २१ त्था विन कुपर १९ रनमा आउट भए । फ्रेड क्लासिन १३ रन, सेन स्नाटर १२ रन, एसए इडवार्डस् ९ रनमा आउट भए । पाउल भान मिकिरिन १२ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । ललित भण्डारी र कप्तान पारसले समान २ लिए । सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि ओडिआई मान्यता पाएको हो। त्यसको साढे ४ महिनापछि नेपालले पहिलो ओडिआई सिरिज खेलेको हो। अब २ खेल खेलेपछि नेपाल पनि ओडिआई र्‍याङ्किङमा समावेश हुनेछ। अहिले टेष्ट खेल्ने १२ सहित कूल १६ राष्ट्रसँग ओडिआई मान्यता छ। नेपाल क्रिकेट खेल्ने विश्वका १०० भन्दा बढी देशमध्ये शीर्ष १६ राष्ट्रभित्र छ।

नेपालसँग टी-२० इन्टरनेशनल मान्यता पनि छ। सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

अब नेपालले खेल्ने अर्को प्रतियोगिता एसिया कप क्वालिफायर हो। यहि अगष्ट अन्तिमबाट मलेसियामा हुने क्वालिफायरमा नेपालसहित ६ राष्ट्रले खेल्नेछन्। नेपाल र युएई ओडिआई मान्यता प्राप्त राष्ट्र हुन्। यी दुईबीचको खेलले ओडिआई मानन्यता पाउनेछ र नेपालको लागि यो तेस्रो ओडिआई हुनेछ।

६ टोलीबीच राउण्ड रोविन लिगमा प्रतिस्पर्धा हुने क्वालिफायरमा नेपाल र युएई नै फाइनलमा पुगे नेपालले चौथो ओडिआई पनि खेल्न पाउँनेछ। त्यासपछि र्‍याङ्किङमा समावेश हुनेछ।

एसिया कप क्वालिफायरमा नेपाल र युएईसहित हङकङ, मलेसिया, ओमान र सिंगापुर छन्। यस प्रतियोगिताको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ क्रिकेटको लागि छनोट हुनेछ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!