कम्युनिस्ट आन्दोलनका समस्याहरु
सागर कुँवर

१. नेपालको कम्युनिष्ट आन्दोलनमा मुल ट्रेनमा कैयौं समयहरुमा विवादहरु हुने गरेका छन । त्यसको इतिहासतर्फ नलागौ । मुल ट्रेन भनेको कम्युनिस्ट आन्दोलनको लक्ष र उद्देश्यमा पुग्नको लागि मार्क्सवादी लेनिनवादी सिद्धान्त अनुसार मुलभुत विषयमा सहि पहिचान र त्यस अनुरुपको कार्यदिशा हो । नेपालमा कम्युनिस्ट वताउने सबै शक्तीहरुले समाजवाद–साम्यवादलाई आफ्नो अन्तिम गन्तव्य वताएका छन । तर उनिहरुका बिचमा समाजवाद–साम्यवादमा पुग्नको लागि उचित कार्यदिशा के भन्नेमा भने दशकौंदेखि मतभेद रहेको छ । यस प्रकारको मतभेद नेपालको कम्युनिस्ट आन्दोलमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनको नै मुख्य समस्याको विषय बन्दै आइरहेको छ । त्यही मतभेदका कारण कैयौं पटक पार्टीहरु विभाजन हुँदै आएको छन ।

२. समाजवाद–साम्यवादमा पुग्ने लक्ष राखे पनि तत्कालिन राजनितिक कार्यदिशा र कार्यक्रम परिस्थिती अनुकुल बन्छ वा बन्दैन, त्यो महत्वपूर्ण हुन्छ । वर्तमानमा गलत कार्यक्रम बनाएर भविष्य सुन्दर बन्दैन । कम्युनिस्ट आन्दोलनको उज्ज्वल भविष्यको लागि वर्तमानमा उज्ज्वल भविष्यसङ्ग जोडेर कार्यदिशा निर्धारण गर्नुपर्दछ । विशेष गरेर समाजवाद–साम्यवादमा कसरी पुग्ने भन्ने सवाल निकै नै महत्त्वपूर्ण छ । वर्गसंघर्षको माध्यमबाट पुग्ने कि वर्गसमन्व्यको माध्यमबाट । सिद्धान्ततः वर्गसंघर्षलाई स्विकार गर्ने तर वर्ग सघर्षको बाटो अवलम्बन नगर्ने, वर्ग सघर्ष भन्दा बित्तिकै हतियारवद्व आन्दोलन हो भनेर बुजिहाल्ने मनोदशाले अन्ततः वर्गसमन्वयलाई नै सहयोग गर्दछ । यस प्रकारको रुपमा वर्ग सघर्षको पक्षमा देखिएर सारमा वर्गसमन्वयको रथमा हिड्ने समूहले तत्कालीन राजनितिक कार्यदिशालाई कम्युनिस्ट पार्टीको रणनैतिक योजनालाई सहयोग र्पुयाउने हिसाबले होइन, केवल कार्यक्रमको लागि कार्यक्रम मात्र बनाउने गर्दछन । त्यो नेपालको सन्दर्भमा पनि लागू भएको छ ।

३. मार्क्सवाद–लेनिनवाद मान्नु, सिद्धान्तमा शशस्त्र सघर्षलाई स्विकार गर्नु, लेनिनवादी सङठनात्मक सिद्धान्तलाई सैद्धान्तिक हिसाबले मान्नु लाई मात्र मुल ट्रेन वताएर उम्कने कि समाजवाद–साम्यवादसम्म पुग्नको लागि मार्क्सवादी–लेनिनवादी सिद्धान्त अनुसार सङ्गठन, कार्र्यिदशा बनाउने र त्यसलाई व्यवहार लागू गर्ने ? यो टड्कारो विषय हो । नेपालमा कैयौं समुहहरुले सिद्धान्ततः मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई स्विकार गर्दछ्न, दिर्घकालिन शशस्त्र सघर्षलाई पनि स्विकार गर्दछन, सर्वाहारा अधिनाकत्व लगाएत माक्र्सवादका आधारभुत सिद्धान्तलाई लिखितम रुपमा स्विकार गर्दछन तर व्यवहारमा त्यस प्रकारको कार्यदिशा अवलम्बन गर्दैनन । यो निकै नै गम्भीर समस्या हो । यस्ता समुहहरुले असल क्रान्तिकारी कार्यकर्तामा असल कम्युनिस्टको भ्रम छरेर जानिदोर नजानिदो तरिकाले अन्ततः दक्षिणपन्थी अवसरवादलाई नै सहयोग र्पुयाइरहेका हुन्छन । दक्षिणपन्थी संशोधनवादमा विसर्जन भैसकेका समुहहरुले समाजवादी राज्यव्यवस्थाको लागि हामी छौं भनेर भ्रम छरिरहेको समयमा मार्क्सवाद–लेनिनवादको स्विकारोक्तीको नाममा कैयौं कम्युनिस्ट समुहहरुले समेत छदम रुपमा प्रकारान्तले दक्षिणपन्थीहरुको यात्रामा सारसंग्रहित हुने अवसरवादी यात्रा तय गर्दै गैरहेको वर्तमान परिदृश्यमा वास्तवामा क्रान्तिकारी पार्टी निर्माण एतिहासिक आवश्यकता हो ।

४. क्रान्तिकारी पार्टी निर्माण कुनै दस्तावेज मात्र तयार गरेर निर्माण हुँदैन । दस्तावेजमा मार्क्सवाद (लेनिनवाद–माओविचारधारा, लेनिनवादि सङ्गठनात्मक सिद्वान्त (जनवादी केन्द्रियता) , पार्टी नेतृत्व, सर्वाहारा अधिनायकत्व, सर्वाहारा विश्व दृष्टिकोण, वर्ग सघर्ष, हिंसात्मक क्रान्ती (वल प्रयोगको सिद्धान्त) लाई लेखेर मात्र क्रान्तिकारी पार्टी निर्माण हुँदैन । क्रान्तिकारी पार्टी निर्माणको लागि माथी उल्लेखित प्रस्थापनाहरुलाई व्यवहारिक रुप दिनुपर्दछ । वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पथप्रदशक सिद्धान्त बताउने केही समुहहरु प्रतिक्रियावादी राज्यसत्ताको चौकीदार बन्नको लागि समेत तयार हुने, उत्पिडित जनताको पक्षमा भन्दा पनि शोषकहरुको राज्यव्यवस्थामा रमाउन चाहने व्यवहारिक प्रयोगहरु हुँदै आइरहेका छन । ठोस परिस्थितीको ठोस विश्लेषण र कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवला दिएर एउटा प्रतिक्रियावादी राज्यसत्ताको हिस्सेदार बन्ने कम्युनिस्ट आन्दोलनको नवीन प्रवृती सर्वाहारा वर्गको समाजवादी राज्यवस्थामा पुग्ने बाटो माथीको गम्भीर धक्का हो ।

५. नेपालमा विशेष गरेर तत्कालीन राजनितिक कार्यदिशामा देखिने मतभेद नै मुख्य मतभेदको विषयवस्तु बनेर कम्युनिस्ट आन्दोलनमा टुट–फुट र विभाजन समेत हुँदै आएको छ । रणनैतिक उद्देश्य पूरा गर्ने सवालमा भन्दा पनि तत्कालिन राजनितीक कार्यदिशा के हुने भन्ने मतान्तरले नै कम्युनिस्ट आन्दोलन कैयौं शिराहरुमा विभाजन भएर दक्षिणपन्थी दिशा समात्दै घोर प्रतिक्रियावादमा विलिन भएका कैयौं तथ्यहरु हाम्रो अगाडि दिनको घाम झै छर्लङ्ग छ्न । खास गरेर दुई लाइन सघर्ष सन्चालनमा देखिएको अधिभुतवादी चिन्तन र कम्युनिस्ट आन्दोलनको गम्भीर समस्यामा रहेको निम्नपुजिवादी चिन्तनका कारणले कम्युनिस्ट आन्दोलनले नराम्रोसङ्ग सेटव्याक खादै आएको छ । आफुलाई मार्क्सवादी–लेनिनवादी वताउने शक्तीहरुले पनि दुई लाइन सघर्षलाई ठोस ढङ्गले अगाडि बढाउने गरेको प्रयत्नहरु खासै पाइदैनन ।

६. कम्युनिस्ट आन्दोलनमा विषेश गरेर जुन समूह पार्टी भित्र बहुमतमा हुन्छ, वहुमत पक्षले अल्पमत पक्षलाई प्रायः अनुशासनको नाममा अनावश्यक लान्छना लगाएर यो वा त्यो वाहनामा कारवाही गर्ने र कारवाही पर्ने बित्तिकै उक्त पार्टी छाड्ने प्रवृतीले दुई लाइनको सघर्षलाई उचित ढङ्गले अगाडि बढाएको पाइदैन । पार्टी भित्र मतभेदहरु हुन्छन, तिनिहरुको मैत्रीपुर्ण तरिकाले समाधान गर्ने, बहस–छलफल चलाउने, मार्क्सवादी–लेनिनवादी पद्धति अनुसार यसको सहि निष्कर्षमा पुग्नु पर्नेमा त्यसको सैद्धान्तिक दुहाई दिएर व्यवहारिक हिसाबले त्यसलाई कार्यन्वयन गरेको पनि पाइदैन । स्वस्थ र मैत्रीपुर्ण तरिकाले उल्लेखित समस्याको समाधान नगरिकन गुटवन्दी गरेर, कैयौं विधि–प्रक्रिया र पद्धतिहरु मिचेर कृतिम समाधान निकाल्ने कार्य नेपालको कम्युनिस्ट आन्दोलनमा निकै नै ठूलो समस्या बनेको छ ।

७. कम्युनिस्ट पार्टीको महाधिवेशन, रास्ट्रीय सम्मेलन वा भेलाहरुमा प्रस्तुत गरिने राजनितिक प्रस्तावमा मुल ट्रेनको नाममा तत्कालिन राजनितिक कार्यदिशा माथी यथेष्ट मात्रामा बहस–छलफल भएको कमै मात्रमा पाइन्छ । विश्व सर्वाहारा वर्गका महान नेता क.माओत्सेतुङले राजनितिक कार्यदिशा सहि हुनु र नहुनुले सबै चिजको फैसला गर्दछ भनेका छन । कुनै पनि आफुलाई कम्युनिस्ट बताउने पार्टीले मार्क्सवाद–लेनिनवाद, समाजवाद(साम्यवाद त भनेकै हुन्छन। घोर दक्षिणपन्थमा विलिन भैसकेका देखि अवसरवादी बाटो समातेका कम्युनिस्ट नामधारी पार्टीहरुले (जसले हसिया–हथौडा अङ्कित झण्डालाई आफ्नो झण्डा वताएर त्यसको प्लेटफर्म प्रयोग गरिनै रहेका छन) आफुलाई समाजवादी व्यवस्थाको हिमायती वताउन छाडेका छैनन । तर उनिहरुले तत्कालिन सघर्षको पक्षलाई समाजवाद–साम्यवादमा पुग्ने सघर्ष गर्नको लागि कुनै गुणात्मक प्रकारका कार्यक्रमहरु बनाएका छैन । कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाको हवला दिएर ठोसमा क्रान्तिकारी कार्यदिशालाई रोक्ने पर्यत्न नेपालको कम्युनिस्ट आन्दोलनमा बारम्बार भैरहेको छ । कुनै पनि कार्यक्रमको तय गरेपछी त्यसपछिको अर्को स्टेप के हो भन्नेमा नै अन्यौल देखिन्छ । कुनै पनि कार्यक्रमलाई ठोस उचाइमा र्पुयाउन भन्दा पनि उठान गर्ने र बिचबाटोमा नै छाड्ने प्रवृतीले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको देखिन्छ ।

८. मार्क्सवादी–लेनिनवादीहरुले आफ्ना तत्कालका कार्यक्रमहरु बनाउदा त्यसले कम्युनिस्ट पार्टीको रणनैतिक उदेश्यलाई सहयोग गर्दछ वा गर्दैन भन्ने सवाल माथी विशेष ध्यान दिएर कार्यक्रमहरु निर्धारण गर्ने र ती कार्यक्रमको उचित कार्यन्वयन गर्ने गर्दछन । यदि ठोस परिस्थितिको ठोस विष्लेषणमा कार्यक्रमहरु नबनेको अवस्थामा त्यसमा आत्मालोचित हुँदै रणनैतिक उदेश्यलाई सहयोग गर्ने तत्कालीन कार्यक्रम बनाइन्छन । कम्युनिस्ट पार्टीले गर्नुपर्ने पनि त्यही हो। तर विडम्बना बन्नुपर्छ, कुनै पार्टीले बनाएका कार्यक्रम पार्टीको रणनैतिक उद्देश्यलाई सहयोग गर्ने खालका थिएनन भने पनि त्यसको समीक्षा गर्ने र गल्ती स्विकार गर्दै नयाँ शिराबाट अगाडि बढ्ने गरेको पाइदैन । हामीले जे गरेका थियौं, सहि गरेका थियौं भनेर अनेकौ उदाहरणको पर्दा हालेर गलतलाई पनि सहि ठहराउने प्रवृती नेपालको कम्युनिस्ट आन्दोलनको थप गम्भीर समस्या नै हो ।

२०७५ भाद्र २३, काठमाण्डौं ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस