Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

कोरोना संक्रमण देखिएकी महिलाको धुलिखेल अस्पतालमा निधन

काभ्रे ।  काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ।  सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो। अस्पताल स्रोतका अनुसार ती महिलामा कोरोनाको संक्रमण देखिएको छ।

उनलाई हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पताल स्रोतले जनाएको छ।  श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको शब निकालेर  धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो।

‘एक जना बिरामीको निधन भएको छ। उहाँको कोरोना परीक्षण पनि गरिएको छ। तर रिपोर्ट सिधैँ मन्त्रालय पठाइएको छ,’ अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारले  भने, ‘उहाँको रिपोर्ट के छ भनेर हामी पनि अहिले ४ बजे हुने मन्त्रालयको प्रेस ब्रिफिङ कुरेर बसेका छौँ।’

तर, स्वास्थ्य मन्त्रालयले ती महिलाको शब धुलिखेल अस्पतालबाट मगाएर पुनः परीक्षणका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको स्रोतले जनाएको छ। ‘धुलिखेलमा पीसीआर र आरडीटी दुवै रिपोर्ट पोजेटिभ आएको छ। तर पनि अझै रिकन्फर्म गर्न टेकुमा पनि शब पठाइएको छ,’ धुलिखेल अस्पतालमा एक चिकित्सकले भने, ‘टेकुको रिपोर्ट मन्त्रालयले नै सार्वजनिक गर्नेछ।’

शुक्रबार निधन भएकी ती महिला अस्पतालमा श्वासप्रश्वासको समस्याका कारण भर्ना भएकी थिइन्। उनी आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डेलिभरी गराएर घर फर्किएकी थिइन्। उनको शुक्रबार दिउँसो शब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परिक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको अस्पताल स्रोतले बतायो।

निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर परीक्षण गरिएको छ।

‘शुक्रबार निधन भएकी महिलाको कोरोना रिर्पोट पोजेटिभ भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘तर त्यसको आधिकारी पुष्टि स्वास्थ्य मन्त्रालयले नै गर्ने भन्ने छ।’

-काठमाडौं प्रेसबाट साभार

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!