Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुहेडलाइन

जसलाई क्यानडाको सुखसुविधाभन्दा नेपालमै संघर्ष प्यारो लाग्यो

काठमाडौं – ‘पूर्वीय सभ्यता र संस्कृतिमा आफ्नो ज्ञानलाई पैसामा बेच्ने गुरू चोर सरह हो, त्यसैले आज अन्य-अन्य दिशामा डुलिरहेको शिक्षा प्रणालीलाई बदलेर सबै नेपालीका लागि विद्याको सर्वसुलभ उपलब्धता हुने युगको थालनी गरौँ भनेर खुला विश्वविद्यालय अभियान प्रारम्भ गरेका हौँ,’ शैक्षिक अभियन्ता इञ्जिनियर डाक्टर प्रमोद ढकालले थप प्रष्ट पार्दै भने, ‘पैसा भएकाले मात्रै पढ्न पाउने र पैसा नहुनेले पढ्नै नपाउने स्थितिको अन्त्य गर्न यो अभियानको थालनी गरेका हौँ।’

क्यानडामा प्रतिष्ठित कम्पनीको जागिर छोडेर नेपाल फर्किंदा ढकालसँग एउटा मिसन थियो, त्यसलाई पूरा गर्ने भिजन थियो। त्यही लक्ष्यलाई पछ्याउँदै शैक्षिक जागरणको अभियानमा लागिरहेका छन् उनी। आफूले शिक्षा आर्जन गर्दा गरेको संघर्षलाई स्मरण गर्दै नेपालका हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने अभिभारा बहन गर्नमा केन्द्रित छन् ढकाल।

‘अब राजनीतिक र व्यापारीक हस्तक्षेपभन्दा पनि विद्याको प्रवाहमा बग्दै फक्रन चाहने जो कसैलाई ज्ञान दिने प्रणालीको स्थापना गर्ने लक्ष्य राखेको छु, जुन कुरा मेरा लागि कमी रह्यो,’ उनी भन्छन्, ‘र, जति कठिनाइ मैले पहिले भोगेँ त्यसलाई जरैदेखि फाल्न विभिन्न क्षेत्रका अगुवाहरुको सुझाव लिएर नयाँ प्रणालीको स्थापना गर्ने मेरो अबको अभियान हो।’

बागलुङका ढकालको क्यानडासम्मको यात्रा

प्रमोद ढकालको जन्म वि.सं. २०२० मंसिर ४ गते बागलुङको जैमिनी नगरपालिका–४ (सर्कुवा, मादी) मा भएको हो। धनकला ढकाल र धर्मागत ढकालका ५ छोरी र ४ जना छोरामध्ये उनी कान्छा हुन्। वि.सं. २०६८ सालमा मुमा कुमारीसँग विवाह गरेका प्रमोद ढकालका छोरा प्रशान्त र छोरी सुष्मा छिन्।

ढकालले प्रारम्भिक शिक्षा जनता माध्यमिक विद्यालय, सर्कुवाबाट पूरा गरे। संवत् २०३४ सालको ब्याचबाट एसएलसी पास ढकालले मेडिकल पढ्ने लक्ष्य राखे पनि जनरल मेडिसिनका लागि दिएको इन्ट्रान्समा नाम निकाल्न सकेनन्, र फिजिक्स पढे। त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह आइएससी पास भएका उनी लगत्तै लमजुङमा गएर शिक्षक भएँ। २ वर्ष बुद्ध मिलन माविमा गणित विषय पढाए, २०३८ सालदेखि २०४० सालसम्म।

‘त्यसपछि बिएससी पढ्न काठमाडौं फर्किएँ, बिएससी पढ्दै गर्दा भारतमा अध्ययनका लागि युएनडीपीको छात्रवृत्ति खुल्यो, परीक्षामा मेरो पनि नाम निस्के पछि इलेक्ट्रोनिक इञ्जिनियरिङ गर्न भारततर्फ लागेँ,’ ढकालले भने। २०४० सालमा भारतको आइआइटी मा पढ्न गएका ढकाल अध्ययन सकेर २०४४ सालमा नेपाल फर्किए। त्यसपछि केही समय उनले इञ्जिनियर भएर काम गरे।

नेपालले बनाउन खोजेको र उनले काम गर्न करार गरेको कर्णाली चिसापानी जलविद्युत् योजना कुनै राष्ट्रीय-अन्तर्राष्ट्रीय कारणले अगाडी बढ्न नसके पछि नेपालमा खुल्न लागेको एशियाकै ठूलो पेपर मिल परियोजनामा काम सुरु गरे।

‘तर, यसबाट आफ्नो प्राविधिक र व्यावसायिक उन्नति तीव्र गतिमा हुने नदेखे पछि, बाह्य छात्रवृतिमै १८ महिनाभित्र कन्ट्रोल सिस्टम इञ्जिनियरिङमा स्नातकोत्तर गरेर त्यहीँ फर्कने प्रस्ताव राखेँ’ उनी भन्छन्, ‘तर, मैले भर्खर जागिर सुरु गरेकोले परियोजनाका महाप्रबन्धकले मलाई बिदा दिने आँट गर्न सक्नु भएन, मैले यो जागिरलाई छोड्न उपयुक्त देखेँ।’

त्यसपछि ढकालले नेपाल विद्युत प्राधिकरणमा काम शुरु गरे। कुलेखानी जलविद्युत आयोजनामा उनको पोस्टिङ भयो। केही समय त्यहाँ काम गरे तर त्यहाँ दिनभरी चेस खेल्ने र राती तास खेल्ने ‘इन्जिनियरिङ वृत्ति’ देखेर उनलाई पिडा भयो। फलस्वरूप, त्यो जागिरलाई पनि छाडेर २०४५ सालमा त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेका ढकालले त्यहाँ तीन वर्ष काम गरे।

त्यहाँ प्राध्यापक रहँदा उनलाई अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा प्रायोजित तालिम लिने र विदेश भ्रमण गर्ने मौका मिल्यो। ‘मलाई त्यसबेला इटाली र क्यानडामा गएर मेरो पेसा सम्बन्धी खास विधाको तालिम लिने र खोज गर्ने अवसर जुर्‍यो।’ त्यही समयमा म केही वरिष्ठ प्राध्यापकहरूको सम्पर्कमा आएँ र उनीहरूको प्रभावमा उच्च शिक्षा अध्ययनका लागि फारम भरेँ र क्यानडाको एउटा विश्वविद्यालयमा छात्रवृति पनि पाएँ,’ ढकाल भन्छन्, ‘तर, नेपालबाट डिनले बोलाए पछि म नेपाल फर्किएँ, र २ वर्ष पढाएर पुनः क्यानाडा गएर इलेक्ट्रिकल इञ्जिनियरिङमा उच्च शिक्षा सुरु गरेँ।’

इलेक्ट्रिक पावर सिस्टमलाई कसरी कम्प्युटर कन्ट्रोल गर्ने भन्ने विषयमा अध्ययन गरेका ढकालले त्यसपछिको ३ वर्ष स्नातकोत्तरमा खर्चिए। संयोगवश, स्नातकोत्तर सक्नासाथ उनलाई विद्यावारिधि गर्न क्यानाडाको राष्ट्रिय विज्ञान तथा प्रविधि अनुसन्धान परिषदको छात्रवृत्ति मिल्यो। ‘त्यो छात्रवृत्तिको उपयोग गरेर मैले विद्यावारिधि पढ्न थालेँ तर त्यो पुरा हुने चरणमा आउँदा-आउँदै मैले आइबीएममा जागिर पाएँ।

त्यसैले अर्को दुई वर्ष पूर्णकालीन जागीर गर्दै बचेको समय सदुपयोग गरेर विद्यावारिधि पुरा गरेँ,’ उनले भने। यो जागिरमा उनले बिजनेस सिष्टम अटोमेसनको क्षेत्रमा काम गर्थे। विद्यावारिधिको पढाइ पनि गरिरहेका भए पनि उनले यसरी काम गरे कि एउटा एनालिष्टको पदबाट सुरु गरेका उनी त्यहाँ दुई वर्षमै सिनियर कन्सल्ट्यान्टको पदमा स्थापित हुन सफल भएका थिए।

व्यावसायिक जीवन

विधावारिधि गरे पश्चात इञ्जिनियर डाक्टर प्रमोद ढकाललाई आधिकारिक पढाइ र जागिर दुवै ठाउँमा खुट्टा राख्न नपर्ने भयो। उनको व्यावसायिक जीवन एउटा नयाँ चरणमा प्रवेश गर्‍यो। उनले आईबीएमलाई छोडेर बेल नर्दन रिर्सच ल्याबोरेटरीमा टेलिकम्युनिकेशन र डिस्ट्रिब्युटेड कम्प्युटिङ सम्बन्धी अनुसन्धानको काम सुरु गरे।

‘सूचना प्रणालीलाई छिटो-छरितो बनाउने र सिस्टमको डाउनटाइम कम गर्ने क्षेत्रमा मैले अनुसन्धान गर्थेँ,’ ढकाल भन्छन्, ‘त्यस क्रममा मैले त्यस क्षेत्रमा केही आविष्कारहरू गरेँ। मलाई लाग्छ, त्यो खास अनुसन्धानशालामा रहेका उच्चतम वैज्ञानिकहरूसँग सङ्गत गर्न पाउनु र आविष्कारको क्षेत्रमा पस्न पाउनु मेरा लागि बडो रूपान्तरणकारी संयोग थियो, भनौँ एउटा भाग्य नै थियो।’

सूचना प्रवाह प्रणालीलाई छिटो बनाउने विषयमा नै अनुसन्धान र विकासको काम गरिरहेकै बेला उनले मास्टर कम्प्युटरको चुनावका लागि एक अल्गोरिदमको आविस्कार गरे, जसले उनलाई एउटा मौलिक पहिचान बनाउन मद्दत गर्‍यो। ‘त्यो समयमा यो सिस्टम सबैभन्दा छिटो थियो, सायद अहिलेसम्म पनि त्यो सिस्टम तीव्रतम र सरलतम मध्येमा पर्न सक्छ, तर मैले यो विषय तर्फ ध्यान दिन छोडेको निकै समय भइसक्यो’ उनले भने।

र, नेपाल फर्किएँ…

त्यसपछि क्यानडामा केही ‘सिनियर’हरुले टेलिकम्युनिकेसन सम्बन्धी कम्पनी खोल्ने निर्णय गरे। ढकाल पनि त्यसै अभियानमा होमिए। ‘हामी कार्यरत रहँदा त्यस कम्पनीले विश्वकै उत्कृष्ट ५० फास्टेस ग्रोथ कम्पनीको अवार्ड लगातार ३-४ वर्षसम्म जितेको थियो,’ ढकाल भन्छन्, ‘तर, काम गर्दागर्दै मैले आफूले विकास गरिरहेको प्रविधिको खाँचो विकसित राष्ट्रमा भन्दा बढि विकासोन्मुख राष्ट्रमा रहेको मनन् गरेर शिक्षा क्षेत्रमा यो प्रविधिलाई लागु गर्ने निर्णय लिएर नेपाल फर्किने निधो गरेँ। आफ्नै देशमा आविष्कार गर्ने परम्परा र संस्कृतिको विकास गरेर यहीँबाट आफ्नो मुलुकलाई चिनाउछु भन्ने उद्देश्यका साथ म नेपाल आएको हुँ।’

सन् २००५ मा ढकालले एउटा नयाँ काम प्रारम्भ गरे। आफूले पढेका र जानेका कुराहरूलाई गुगलले वा पुस्तकालयले संग्रह गरेजस्तै संग्रह गर्ने अनि इन्टरनेटमा विद्यमान प्रविधिलाई रूपान्तरण गरेर बनाएको खास प्रविधिबाट त्यसको क्याटलगिङ गर्ने एउटा आविष्कार उनको मनमा सुझ्यो। त्यसले सूचनालाई खोजेर र प्राथमिकीकरण गरेर इच्छा गरेको र चाहिएको कुरा व्यक्तिको उमेर, क्षमता, वर्तमान काम र रुचि अनुसारको सूचना टप ट्रेन्डिङमा आउने र आफैँ उसको व्यक्तिगत स्पेसमा सङ्ग्रहित हुने सिस्टमको डिजाइन गरे।

‘शिक्षाका लागि ओपन विकिपिडिया बनाउने भिजनका साथ मैले यो अवधारणा ल्याएको हुँ, खास प्रकारको ओपन युनिभसिटीको कन्सेप्ट ल्याएको हुँ,’ उनले भने, ‘शुरूमा स्कूले विद्यार्थीहरूलाई लक्षित गरेर यसको विकास गर्ने कोसिस गरेको थिए, तर अहिलेसम्म बालबालिकाका लागि इन्टरनेटबाट अध्ययन गर्ने प्रविधिको विकासले उचाइ नचुमिसकेको हुनाले यसमा ठोस उपलब्धि पाउन बढि समय लाग्ने देखिएकाले फेरि एडल्ट एजुकेसन र उच्च शिक्षालाई लक्षित गरेर खुला विश्वविद्यालयको अवधारणातर्फ ठोक्किएको हुँ ।’

ढकालले थुप्रै वर्ष विभिन्न प्रणालीहरूको अध्ययनमा खर्चे पछि सन् २००८ मा मात्रै खुला विश्वविद्यालयको खास अवधारणालाई अँगालेर पूर्णकालीन रूपमा त्यसको विकासमा लागेका हुन्।

‘खुला विश्वविद्यालयः शिक्षा सबैका लागि’

ढकाल के प्रेरणाले यस्तो अभियानमा लागे त? ‘ज्ञान भनेको सबैका लागि खुला हुनुपर्छ। यसलाई छेक्ने कुनै बाँध बाँधिएको हुनु हुँदैन। यस्तो धारणालाई आत्मसात् गर्दै विश्वभरि थुप्रै अभियानहरू चलिरहेका थिए।

अमेरिकाको एमआइटीले सन् २००२ मा ओपन कोर्षवेयरको प्रकाशन सुरु गरेको थियो र धेरै विश्वविद्यालयहरू त्यो अभियानमा सामेल हुँदै थिए। मोजिला फायरफक्स जस्ता खुला सफ्टवेयर र इन्फर्मेसन सोर्सहरूको सिर्जना हुदैँ थियो । त्यसैबाट प्रभावित भएर मैले पनि नेपालमा यस्तै खालको प्रणाली ल्याउने सोच बनाउन पुगेको थिएँ’, उनी भन्छन्।

नेपालमा यति धेरै क्याम्पस र विश्वविद्यालय छन्, किन खुला विश्वविद्यालय आवश्यक पर्‍यो?

एउटा सभ्य र सुसंस्कृत समाजमा आफुलाई चाहिएको कुरामा सुसूचित हुने अधिकार सबैलाई हुनु पर्छ। के कृषिका लागि दिइएको शिक्षा पैसाको अभावमा वा अन्य बहानामा किसानले नै नपाउनु ठीक हो त? अवश्य होइन। तर नेपालमा यहाँका विश्वविद्यालयले दिने कृषि शिक्षा पाउनबाट नेपालका किसान बञ्चित छन्। तपाईँ पत्रकारको विद्या पनि त्यसरी नै सबै पत्रकार र पत्रकार हुन चाहनेहरूको पहुँचमा छैन र अरू अरू पेसाका मानिसका लागि चाहिने विद्या पनि उनीहरूका पहुँचबाट टाढा छ।

एउटा सभ्य समाजमा, कुनै डाक्टरको उपाधि लिनका लागि मात्र नभएर आफूलाई रोग लाग्दा त्यो रोग र त्यसको उपचार विधिको बारेमा एउटा बिरामीले पूर्ण जानकारी पाउन सम्भव हुनु पर्छ वा सम्भव बनाइनु पर्छ। त्यसैले, ज्ञानको उज्यालोको प्रयोग गरेर जीवन र जगतलाई हेर्न पाउनु हामी सबैको नैसर्गिक अधिकार हो भन्ने सोचका साथमा यो हाम्रो अवधारणा अघि बढेको थियो ।

शुरुआत कसरी गर्नु भयो?

हाम्रो पूर्वीय सभ्यतामा यस्तो दार्शनिक मान्यता थियो जसले भन्छ – ‘ज्ञान बेच्ने गुरू चोर सरह हो’ । त्यसैबाट अभिप्रेरित भएर हामीले भन्यौँ –विद्याको अवसर सबैका लागि खुला गर्नुपर्छ, ज्ञानको ढोका सबैका लागि खुला हुनु पर्छ । त्यसैले हामीले खुला विश्वविद्यालयको निर्माण गर्न खोज्यौँ , जुन सोचमा विदेश रहेका नेपाली र अन्य बुद्धिजीवीहरूले पनि साथ दिनुभयो । सन् २०१० मा हामीले तत्कालीन शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ल र शिक्षा सचिव दीपेन्द्रविक्रम थापासँग यस विषयलाई प्रस्तुत गर्दा वहाँहरूले यसलाई नितान्त सकारात्मक रूपमा लिएर सँगै अगाडी बढ्न तत्पर हुनु भयो। यसरी हामी सन् २०१० मा काठमाडौं केसरमहलमा यसको कार्यालय स्थापना गर्न सफल भएका थियौँ। त्यही र त्यस बखत सुरु भएको गैरआवासीय नेपाली संघ र नेपाल सरकारको साझेदारीमा अडिएर हामी खुला विश्वविद्यालय स्थापना गर्न सफल भयौँ।

अस्थायी सरकारका कारण त्यो सन् २०१० को सरकार धेरै समय टिक्न सकेन। हामीलाई सबै काम कार्यान्वयन गर्न निकै कठिन भयो। सम्पूर्ण अभियान नै हडप्न खोज्नेसम्मका परिस्थिति पनि आइलागेका थिए । २०१२ मा नेपाल सरकारले विकास समिति गठन गर्‍यो । तर, त्यसमा पहिला निर्माण भएको स्टियरिङ कमिटिका सदस्यहरू राखिएन र एजेण्डाहरू बदलियो। हामीलाई काम गर्न निकै गाह्रो बनाइयो । त्यसपछि सडकबाटै सबै काम गर्नु पर्‍यो। मैले २०१३ देखि २०१७ सम्म सडकबाट नै काम गरें।

संयोगले सन् २०१४ मा निर्वाचित संसदको शिक्षा हेर्ने महिला बालबालिका तथा समाज कल्याण समितिका सभापति सांसद रञ्जुकुमारी झा हुनुहुन्थ्यो, जसले यो कामलाई अत्यन्त सकारात्मक ढङ्गले सहयोग गर्नु भयो। तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि यसमा सकारात्मक सहयोग गर्नु भयो । उहाँहरूबाट हामीलाई राम्रो सहयोग भयो र अरू पनि तमाम सांसदहरूको सहयोग र सौहार्दताका कारण २०१६ मा यो खुला विश्वविद्यालय ऐन पारित भयो । यदि सही कार्यान्वयन हुन सक्ने भएमा सैद्धान्तिक रूपमा खुला उच्च शिक्षाको बाटो ऐनले सुनिश्चित गर्‍यो । तर, राजनितिक हस्तक्षेपका कारणले यो विश्वविद्यालयका प्रतिनिधिहरू पनि खुला रूपमा छान्न पाइएन। म आफू राजनीतिक दबाबमा बस्न चाहिनँ।

हेर्नुस्, चौतारी पीपल रोप्न बनाए पनि यदि त्यसमा चिलाउने रोप्यो भने जति मलजल गरे पनि त्यो हुर्कने रुख चिलाउने नै हुन्छ पीपल हुँदैन। हो भित्री र बाहिरी रूपमा हेर्दा चिलाउने र पीपलमा कति नै फरक हुन्छ र ! तिनको जीनमा एक प्रतिशत भन्दा कम भिन्नता हुन्छ होला तर त्यो सानो अन्तरको परिणाम ठूलो हुन्छ। चिलाउनेले पीपलको काम दिँदैन। हाम्रो संस्थामा पनि राजनीतिक हस्तक्षेप भयो र त्यसमा अन्य-अन्य जीनको प्रत्यारोपण भयो, हामीले संसदीय समितिमा बुझाएको श्वेतपत्रलाई लत्याएर अन्य तरिकाले संस्था चलाइने भयो। हामीले खुला विश्वविद्यालयका लागि चौतारी बनायौँ तर त्यहाँ दूर शिक्षा रोपियो, खुला शिक्षा रोपिएन। हामीले विद्याको चौतारी बनायौँ, त्यहाँ शिक्षाको बेर्नो रोपियो। हुन त पिपल र चिलाउने झैँ विद्या र शिक्षा पनि उस्तै हुन् तर उही होइनन्।

हुनत, जति अपमानजनक नै किन नहोस्, कुनै पदमा मलाई पनि जागिर दिन्छौँ भनिएको थियो तर मैले संस्था छाड्न उपयुक्त देखेँ। हामीले कल्पना गरेको भन्दा भिन्नै बिरुवा रोपेर त्यसको विकास गर्न खटिएका मानिसलाई स्वतन्त्र ढङ्गले काम गर्न दिनु बाहेक अरू विकल्प देखिन। मेरो आफ्नै नेतृत्वमा स्थापना गरेको संस्थाको प्राङ्गणमा स्थापना पश्चात मैले खुट्टा पनि टेकेको छैन।

त्यसपछि के काम गर्नु भयो ?

फेरि म नयाँ विश्वविद्यालय बनाउने सोचमा अघि बढेँ । राजनीतिक र व्यापारीक हस्तक्षेपभन्दा पर ज्ञानको दुनियाँमा रमाउने स्कलरको दुनियाँ निर्माण गर्छु भनेर अर्को पौने दुई वर्ष गैँडाकोटका जनतासँग लागेँ। जति कठिनाइ मैले पहिले भोगेँ त्यसलाई जरैदेखि फाल्न विभिन्न क्षेत्रका अगुवाहरुको सुझाव लिएर नयाँ विश्वविद्यालय ल्याउने अभियानमा लागेँ । मैले – शिक्षामा भएको राजनीतिकरण र यसले निम्त्याएको विकृतिलाई अन्त्य गर्ने प्रकारको, केबल कक्षा कोठामै मात्रै सीमित रहने विश्वविद्यालयभन्दा फरक, देशको मौलिक भौगोलिक-सामाजिक-सांस्कृतिक पृष्ठभूमिमा टेकेर समस्या-समाधान खोज्ने, गुणस्तरीय उच्च शिक्षाको खोजीमा विदेश भौतारिनु पर्ने स्थितिको अन्त्य गर्ने, आफ्नो देशको उत्कृष्ट बौद्धिक सम्पत्तिलाई स्वदेशमै सदुपयोग गर्ने अभिप्रायले एउटा नयाँ पवित्र थलो बनाउँछु भनेर लागेँ।

तर त्यहाँ पनि सार्वभौम नेपाली जनताको आँखा भन्दा पर र उनीहरूले निर्वाचित गरेको सरकारको आधिकारिक कार्यालय भन्दा पर कोही मानिस जनताका दलाल र कोही सरकारका दलाल बनेर होटेलका कोठामा ताना बुन्ने काम सुरु भयो। त्यो हिजोदेखि चल्दै आएको गलत परिपाटीलाई परास्त गर्न नसकिने देखे पछि यो नयाँ अभियानलाई पनि छोड्न नैतिक रूपमा बाध्य भएँ।

अब के गर्नु हुन्छ त?

यही दौरानमा ‘विद्यावत शहर – एक श्वेत पत्र’ नामको दस्तावेज तयार गरेको छु, जसलाई नेपाली समाजमा पस्कने मेरो विचार छ। यसले ज्ञान, विज्ञान, विद्या, प्रविधि, र समृद्धि सम्बन्धमा सकारात्मक फड्को मार्न कुनै पनि राज्य वा त्यसका एकाइले अपनाउनु पर्ने उपायहरूको खोज छ र यसले विद्यावत नेपालको विकासको अवधारणा अगाडी ल्याउँछ। तर त्यसलाई समाजका अगाडी ल्याउनु अगाडी विगत १५ वर्षको अध्ययन र अनुभवबाट मैले लिएको शिक्षालाई नेपाली समाजमा पस्कने हेतुले ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ नामको एक पुस्तक तयार गरेको छु, जुन प्रकाशन हुने चरणमा आइपुगेको छ। सायद एक महिना जति पछि यो बाहिर आउँछ।

लोकहित मै जीवन समर्पण गर्छु भनेर हिँडेको, अनि ज्ञान, विज्ञान र विद्याको उत्थानका लागि संस्थागत आधारशिला बनाउँछु भनेर हिँडेको, १५ वर्ष पछि मैले यो निष्कर्ष निकालेको छु कि समयानुकूल परिवर्तन हुन नसकेको हाम्रो समाजको पुरानो सामाजिक-आर्थिक-सांस्कृतिक परम्पराबाट मिच्छिएका हामीलाई विश्वका अन्य राष्ट्रका वाद, प्रणाली आदिमा हाम्रो समस्याको समाधान होला भन्ने लाग्यो।

तर यथार्थमा कुनै वादले त्यसको प्रतिवादको जन्म दिने भन्दा धेरै काम केही गर्न सकेन। न हाम्रो मौलिक सामाजिक-सांस्कृतिक प्रणालीलाई खार्ने र माझ्ने नगरी कन हामीलाई त्यसले सही गन्तव्यमा लैजान सक्ने देखियो। अब हामीले वाद-प्रतिवाद, राष्ट्रको पार्टीकरण, र विश्वास-अन्धविश्वासको चक्र भन्दा माथि उठेको बाटो पहिल्याउनु परेको छ। यो पुस्तकलाई त्यही बाटाको खोजमा लाग्न नेपाल र नेपालीलाई घच्घच्याउने एउटा दृढ प्रयत्नका रूपमा मैले लिएको छु।

अब मैले मेरा यी अवधारणाहरूलाई लोकमा पस्केर त्यस उपर लोकले राख्ने मतलाई ग्रहण गरेर आफ्ना अवधारणाहरूलाई माझ्नेछु। जब त्यो अवधारणालाई आम समाजको आत्माले अनुमोदन गर्छ र अपनाउँछ तब मलाई पनि त्यसपछि के-कसरी अघि बढ्ने भनेर बाटो पहिल्याउन सहज हुनेछ। तर जे भए पनि विद्या, विज्ञान र नवप्रवर्तनका इँटाले बन्ने विज्ञानको खम्बा, आफ्नो देशको सामाजिक-सांस्कृतिक इँटाले बन्ने मौलिकताको खम्बा, र शिल्प, सिर्जन र उद्यमका इँटाले बन्ने व्यावसायिक खम्बामा टेकेको नेपाल हेर्न मलाई मन छ। त्यसैका लागि आवश्यक ज्ञानको निर्माण र नवीन परिर्वतनको जिज्ञासा उमार्न सक्दो योगदान दिनमै मेरा आउने दिनहरू समर्पित भएका हुनेछन्।
https://www.youtube.com/watch?v=okpAbV6zJWw&feature=emb_title

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!