Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

अन्तरराष्ट्रिय

धर्मगुरु दलाई लामा अस्पताल भर्ना

नयाँदिल्ली,एजेन्सी : भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा दिल्लीस्थित अस्पताल भर्ना भएका छन् ।
८३ वर्षीय लामालाई छातीमा संक्रमण भएको तर उनको स्थिति स्थिर रहेको जनाइएको छ ।

उनका सहयोगी तेन्जिन ताक्लाले धर्मगुरु दलाई लामालाई केही अप्ठ्यारो महशुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको बताएका बीबीसीले जनाएको छ ।

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए । उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन् । उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन् ।

उनलाई तिब्बतका नागरिकहरुले धार्मिक देवताका रुपमा पुजा गर्ने गर्दछन् । उनले विश्वमा शान्तिको पक्षमा भगवान बुद्धको सन्देशलाई लिएर हिड्ने गरेका छन् ।

‘चिकित्सकहरूले उहाँको छातीमा संक्र्रमण भएको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ, ‘ताक्लाले भर्खरै दिल्लीस्थित समाचार एजेन्सी रोएटर्सलाई भने । उनका अनुसार दलाई लामाको दुई—तीन दिन उपचार हुनेछ ।
चीनले सन् १९५० मा एउटा स्वतन्त्र देश तिब्बतलाई सेनाको बलमा आफ्नो नियन्त्रणमा लिएको थियो । उसले दलाई लामालाई पृथक्तावादी नेता मान्छ भने तिब्बती नागरिकहरु उनलाई धर्म गुरु मान्छन् । विश्वभरि रहेका तिब्बती नागरिकहरुले दलाई लामालाई पूर्ण सम्मान प्रदान गर्दछन् ।

तिब्बती बौद्धमतका अनुसार दलाई लामा पुनर्जन्म लिएका अवतार मानिन्छन् । त्यसो त बौद्ध मत अनुसार दलाई लामाको अबतारहरु तुरुन्त यस धर्तीमा अवतरण हुने गर्दछन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!