काठमाडौं, : गृहमन्त्री रामबहादुर थापाले नागरिकता वितरणकाे विषयलार्इ लिएर सांसदहरुलार्इ सचेत हुन अाग्रह गरेका छन्। गृहमन्त्री थापाले नागरिकता वितरणकाे विषय राष्ट्रिय अखण्डतासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गर्दै उनले सचेत हुन अाग्रह गरेका हुन्।

गृहमन्त्री थापाले राष्ट्रको विकास, पहिचान र सुरक्षासँग जोडिएकाले यस विषयमा आवश्यक कानुन बनाउँदा सचेत रहन सांसदहरुलाई दाेहर्‍याएर आग्रह गरे ।

आइतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले राष्ट्रको सुरक्षासँग जोडिएको विषय भएकाले यसको वितरणमा सरकार सचेत रहेको पनि स्पष्ट पारे ।

उनले विदेशी नागरिकलाई नागरिकता दिएको भन्ने विषयमा सरकारले आवश्यक छानवीन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । गृहमन्त्री थापाले नागरिकता वितरणमा आर्थिक चलखेल हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कडा निगरानी राख्ने चेतावनी पनि दिए ।

समितिका अर्का सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले विदेशीले नेपाली नागरिकता पाउने समस्या समाधान हुनेगरी विधेयकलाई पारित गर्नुपर्ने आवश्यक्ता औंल्याउए । स्वदेशी नागरिकले नागरिकता नपाउने बिडम्बनापूर्ण अवस्थाको पनि अन्त्य हुने गरी विधेयकलाई टुंगो लगाउनुपर्ने शर्माको भनाई छ ।

सरकारले नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गर्नका लागि सो विधेयकको संशोधन प्रस्ताव संघीय संसदमा पेश गरेको हो । समितिको बैठकमा गृहमन्त्री थापाले विधेयकलाई आवश्यक सुझावसहित पारित गर्न पनि सांसदहरुलाई आग्रह गरे।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस