Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

मनोरन्जनहेडलाइन

नेपालसँगै भारतको २५ हलमा ‘आप्पा’

शुक्रबार (असार १३) बाट प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ टिमले शुक्रबार नेपाली फिल्मको दुई ठूला बजार पोखरा र नारायणघाटमा पत्रकारसँग भेटघाट गरेको छ । नारायणघाटमा पत्रकारसँग अन्तरक्रिया गर्दै निर्देशक अनमोल गुरुङले फिल्म नेपालसँगै भारतका मुख्य शहरमा समेत रिलिज हुने जानकारी दिए । भारतको २५ हलमा फिल्म प्रदर्शन हुने उनको भनाई छ ।
उनले धेरैपछि नेपाली फिल्म नेपालसँगै भारतमा पनि एकैदिन रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे । उनले भने- ‘नेपाली फिल्मको विदेशमा च्यारिटी शोजहरु प्रायः भइरहेका हुन्छन् तर एकसाथ हलमा रिलिज भने निकै कम हुने गर्छन् । ‘आप्पा’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुने फिल्ममा परेको छ ।’ भारतको नयाँ दिल्ली, कोलकता, मुम्बई, सिक्किम, आसाम, दार्जिलिङ, सिलोङलगायतका शहरमा फिल्म लाग्नेछ ।
उनले ‘आप्पा’ राम्रो बनेको दाबी समेत गरे । दर्शकलाई एकपटक हलसम्म पुगेर फिल्म हेरिदिन उनको आग्रह छ । यस्तै, टाइटल क्यारेक्टरमा रहेका अभिनेता दयाहाङ राईले फिल्ममा दार्जिलिङदेखि सन्दकपुरसम्मको यात्राको कथा रहेको बताए । उनी भन्छन्, ‘फिल्ममा मैले बिर्खे नाम गरेको एक ड्राइभरको भूमिका निभाएको छु । त्यही ड्राइभरको वरिपरि नै फिल्मको मूल कथा घुमेको छ ।’
एउटा ड्राइभरले गाडी चलाउँदा के-के भोग्नु पर्छ भन्ने मार्मिक कथा फिल्मले उठान गरेको दयाहाङ बताउँछन् । एक छोरा र पिताको सम्बन्धको कथामा आधारित भएर बनेको यस फिल्मका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
‘आप्पा’ मा दयाहाङका अलावा सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ । यसमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!