Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

बिज्ञान प्रबिधीहेडलाइन

नेपाली नानो स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा शुरु गरेको छ ।

गएको वैशाख ५ गते अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइट ‘नेपालीस्याट १’ सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न शुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।

अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण गरिएको थियो ।
स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो ।

यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम समेत रहेको जनाइएको छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।

अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन अनुसन्धान थाल्न सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!