Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

नेपाल व्यापार र लगानीका लागि तत्पर छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकोले लगानीको राम्रो अवसर रहेको बताएका छन् ।

नेपाल लगानी सम्मेलन २०७५ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा अहिले स्थिर सरकार, नीतिगत स्थिरता र सुस्पष्ट लक्ष्यका साथ अघि बढेको सरकार छ । म तपाईंहरुलाई मेरो विकासको सपनालाई मूर्तता प्रदान गर्न ७५ वटा भन्दा बढी आकर्षक परियोजनाहरु प्रष्तुत गर्दैछु ।’

प्रधानमन्त्री ओलीले नेपाल नेपालीको लामो समय देखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पूरा हुँदैछ भन्ने आफूलाई विस्वास लागेको बताए ।

‘विभिन्न देशबाट आउनुभएका लगानीकर्ताहरुलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरी ३ करोड इमान्दार र मेहनती जनताको जीवन स्तर उकास्न सहयोग गर्नुस् भन्ने आह्वान समेत गर्दछु’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले आधार वर्षको रुपमा गएको एक वर्षलाई नीतिगत र कानुनी सुधार वर्षको रुपमा लिएको बताए ।

‘यसबीच हामीले संविधानलाई कार्यान्वयन गर्न कैयन कानूनको निर्माण गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ कानूनी तथा नीतिगत संरचनाले विदेशी लगानीलाई उत्प्रेरित गर्ने वातावरण बनाएको छ ।’
प्रधानमन्त्री ओलीले नेपाललाई सन् २०३० सम्ममा सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यमस्तरको आम्दानी भएको देशका रुपमा रुपान्तरण गर्न चाहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहेको बताए ।
‘नेपाल व्यापार र लगानीका लागि तत्पर छ भन्ने मेरो सन्देश हो’ प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षित महसुश गर्नुहोस् र अवसरको फाइदा लिनुहोस् । तपाईंको लगानी संरक्षित र मुनाफा सुरक्षित छ । संसदमा भएका सबै राजनीतिक दलहरु वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र भित्र्याउन एकमत छन् ।’

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!