Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

खेलकुदहेडलाइन

न्यूजिल्याण्ड फाइनलमा,भारत १८ रनले पराजित

एजेन्सी- आईसीसी विश्वकप क्रिकेटमा भारत सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । अब उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाए खेलिरहेको अवस्थामा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो ।

बुधबार न्यूजिल्याण्डले आफ्ना थप ३ विकेट गुमाएर २८ रन जोड्दै २ सय ३९ रन बनायो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए ।

न्यूजिल्याण्डलाई सस्तैमा समेट्न भुवनेश्वर कुमारले तीन विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले समान एक–एक विकेट लिए ।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा अलआउट हुदै २२१ जोड्न सक्यो र १८ रनले पराजित हुन पुग्यो । भारतका सुरुवाती खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली समान १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतको तीन विकेट गइसकेको थियो ।

अर्का ब्याट्म्यान दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भएपछि भारत संकटमा परेको थियो । ऋषभ पन्त र हार्दिक पाण्ड्याले समान ३२ बनाए भने भारत ९२ रन बनाउँदा ६ विकेट गुमाइ सकेको थियो । यस्तो अवस्थामा भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले ११६ रनको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा पलाएको थियो । । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २०८ रनमा सातौं विकेट गुमाएको थियो । लगतै धोनी रनआउट भएपछि भारतको जितको सपना सकिएको थियो ।

बलिङतर्फ म्याट हेनरीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!