Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन

पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ ।
गत माघ २४ गते ह्याम्स अस्पताल भर्ना भएका अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो ।

फाइल तस्बिर
फाइल तस्बिर

नेता अधिकारीको शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो ।

तीन दिनदेखि अधिकारीले परिवारका सदस्यहरुले बोलाउदा समेत प्रतिक्रिया जनाउन छाडेका थिए ।
शनिबार दिउँसो अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले अधिकारीलाई बचाउन सक्ने सम्भावना न्यून रहेको अस्पतालले जानकारी दिएको थियो ।

लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक–पटक दोहोरिएको थियो ।
पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो ।
त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।
अधिकारीका श्रीमती र तीन छोरी छन् ।
१९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरतमोहन अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ हुन् ।

चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसक्नुभएका नेता अधिकारीलाई ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा पनि चिनिन्छ ।
२०५१ सालमा एमालेको नौ महिने शासनका अर्थमन्त्री अधिकारीले पहिलोपटक जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता दिने र ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सुरु गरेका थिए ।
२०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्यूरो सदस्य निर्वाचित भएका थिए ।
नेता अधिकारीलाई तत्कालीन माले र माक्र्सवादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि चिनिन्छ । अधिकारीकै पहलमा सात वटा वाम घटकहरु एक भएर संयुक्त वाम मोर्चा निर्माण गरेपछि २०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलन सफल भएको थियो ।
२०६१ सालमा उप्रधानमन्त्री रहेकै बेला पूर्व राजा ज्ञानेन्द्रले कु गरेपछि उनी पक्राउ परेर ३ महिना घरमै नजरबन्दमा बसेका थिए ।
स्वर्गीय अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गरेका थिए ।
अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!