गएको चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्का स्टारर फिल्म हो ‘लिलिबिली’ । बक्सअफिसमा राम्रो विजनेश गर्न सफल यस फिल्मले आइतवारबाट प्रदर्शनको ५१ औं दिन मनाउन सफल भएको छ । गोपीकृष्ण, गुण, अष्टनारायण र बाराहीसहित चार हलमा ५१ औं दिन मनाएको यो फिल्मले ६ करोड ग्रस कलेक्सन गरेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।
‘लिलिबिली’ ले ५१ औं दिन मनाउन सफल भएको अवसरमा निर्माता शाहीले आइतवार साँझ एक कार्यक्रमका बीच नयाँ फिल्म ‘लभ स्टेशन’ घोषणा गरे । उक्त फिल्ममा अभिनेता प्रदीप खड्का लिड रोलमा छन् । उज्जवल घिमिरेले यसलाई निर्देशन गर्दैछन् ।
यस फिल्मको घोषणाको कार्यक्रममा ‘लिलिबिली’ ले ५१ औं दिन मनाएको खुसीयालीमा केक समेत काटियो । जहाँ प्रदीप र गाविन्दसँगै निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्का पनि उपस्थित थिए । मिलन र सुदीप कार्यक्रममा पुग्दा धेरै आश्चर्यमा परेका थिए ।

कारण, अहिले ‘लिलिबिली’ टीम दुई ध्रव भएको छ । गोविन्दले प्रदीप लिएर ‘लभ स्टेशन’ बनाउँदै गर्दा उता मिलनले सुदीपलाई च्याप्दै अभिनेता अनमोल केसीलाई लिएर ‘ब्याचलर बन्टी’ बनाउँदैछन् । ‘लिलिबिली’ को कलेक्सनलाई लिएर यस फिल्मका निर्माता-निर्माताबीच द्वन्द्व चलिरहँदा निर्देशक चाम्स र अभिनेता प्रदीपको पनि अहिले ‘पानी बाराबार’ छ ।

गएको महिना राजधानीमा भएको ‘एनएफडिसी अवार्ड’ मा मिलनले प्रदीपसँग हात मिलाएर दुई शब्द बोल्न जाँगर समेत नचलाउँदा धेरैले यी दुईको सम्बन्ध ठिकठाक नभएको आँकलन गरेका थिए । लगत्तै मिडियामा यी दुईको ‘पानी बाराबार’ रहेको खबर बाहिरियो । यसपछि मिलनले विभिन्न सञ्चारमाध्यमसँग कुरा गर्दै खुल्लम खुल्ला प्रदीप ‘घमण्डी’ रहेको अभिव्यक्ति दिए ।

Photo: google

अझैसम्म मिलनले लगाएको आरोपको खण्डन प्रदीपले गरेका छैनन् । उनी यस विषयमा कुनै जवाफ दिएर फेरि बहस चर्काउने मनस्थितिमा छैनन् । तर, आइतवार फिल्म ‘लभ स्टेशन’ को घोषणा कार्यक्रममा निर्देशक चाम्स र अभिनेता खड्का आमने-सामने भए ।

कार्यक्रममा मिलन र सुदीपको ईन्ट्री भएपछि पत्रकार र उपस्थित अतिथीले ताली बजाएर स्वागत गरेका थिए । केही मिनेट पश्चात् उद्घोषक नरेश भट्टराईले निर्देशक चाम्स र निर्माता सुदीपलाई स्टेजमा अतिथीका रुपमा निम्तो दिए । दुवै स्टेज चढे । स्टेजमा पहिला नै निर्माता शाही र अभिनेता खड्का विराजमान थिए ।

सबैको आँखा प्रदीप र मिलनले अंकमाल गर्छन् वा गर्दैनन् भन्नेमा थियो । अन्ततः मिडियाका लागि भएपनि दुवैले अंकमाल गरे । मिलनले प्रदीपलाई नयाँ फिल्मका लागि शुभकामना दिए । झण्डै ४५ मिनेट चलेको ‘लभ स्टेशन’ को घोषणा सभामा निर्देशक र अभिनेताले खासै कुराकानी गरेको देखिएन ।

एकसाथ बसेका कारण बेलाबखतमा भने यी दुईलाई केही कानेखुसी गरेको देखिन्थ्यो । कार्यक्रम चलिरहेकै बखत प्रदीपले मिलनसँग एक सेल्फी समेत लिए । ‘लिलिबिली’ ले प्रदर्शनको ५१ औं दिन मनाएको अवसरमा उक्त कार्यक्रममा केक काटिएको थियो ।

निर्माता गोविन्द शाही, निर्देशक मिलन चाम्स, निर्माता सुदीप खड्का, अभिनेता प्रदीप खड्काले संयूक्त रुपमा फिल्मको सक्सेस केक काटे । मिलन र प्रदीप दुवैले एकअर्कालाई केक खुवाएर बधाई आदानप्रदान गरे । फेरि हल तालीले गुञ्जियो ।

निर्देशक चाम्स र अभिनेता खड्काको दरारलाई लिएर कार्यक्रममा पत्रकारका अनेकौं प्रश्न नतेर्सिने त कुरै थिएन । तर, पत्रकारका हरेक प्रश्नलाई दुवैले घुमाउरो शैलीमा उत्तर दिए । मिलनले प्रदीपसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताउँदै भविष्यमा राम्रो प्रोजेक्ट मिले सँगै काम गर्न तयार रहेको बताए ।

उता प्रदीप पनि निर्देशक चाम्सकै कुरामा सहमती जनाउँछन् । ‘बाहिर के-के खबर फैलियो मलाई थाहा छैन । तर मिलन दाई र मेरो अझै पनि राम्रो सम्बन्ध छ’, उनले भने । उनले टिमभित्र मनमुटाव हुनु सामान्य रहेको पनि बताए ।

मिडियाको अगाडि निर्देशक चाम्स र अभिनेता खड्काले सम्बन्ध ठिकठाक रहेको बयान दिएपनि के वास्तविकता देखे झैँ छ त ? आशा गरौँ- निर्देशक र अभिनेताको फेरि ‘पानी बाराबार’ भएको खबर सुन्न पाइने छैन ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस