गोरखाको मनकामना मन्दिरमा सर्वसाधारणका लागि बुधबारदेखि खुल्ला गरिएको छ ।
मन्दिर पुनर्निर्माणका लागि यसअघि अस्थायी टहरामा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । भूकम्पअघि दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो ।

मन्दिर जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले मूल मन्दिर पुनर्निर्माणको काम सकिएको कारण मन्दिर खुल्ला गरिएको बताए । पुनर्निर्माणका लागि मन्दिरमा पूजा बन्द गरेको ४३ महिनापछि फेरि सर्वसाधारणका लागि खुला गरिएको हो ।

बिहान नित्य पूजा गरेर मन्दिर खुल्ला गरिएको पुजारी इन्सान थापा मगरले बताए । मन्दिर खुल्ला भएसँगै यस अघि पूजाका लागि बनाइएको अस्थायी टहरा भत्काइएको छ । मन्दिरमा पूजाआजा व्यवस्थित भएको र भक्तजनलाई पनि सहज भएको पुजारी मगरको भनाइ छ ।

करिव १४ करोडको लागतमा मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको मन्दिर जिर्णाेद्धार समिति संयोजक श्रेष्ठले जानकारी दिए । करिव १८ किलो सुन खर्च भएको उनको भनाइ छ ।

मन्दिर जीर्णाेद्धारका लागि पूरातत्व विभागबाट चार करोड रुपैयाँ विनियोजन भएको थियो । करिव साढे तीन बर्ष अस्थायी टहरामै पूजा गर्दै आएका भक्तजनहरु मन्दिरभित्रै बाट पूजा गर्न पाउँदा खुशी छन् । पुरानै प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण भएको छ ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस