Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

प्रबाससमाचारहरुस्वास्थ्य

रक्तदान गर्न अमेरिकाबाट केन्या जाँदै मैनाली ।

सेप्टेम्बर ९, न्यूयोर्क ।
प्रसूतिका बेला अत्यधिक रक्तश्राव भएर ६ लाख महिलाहरुको मृत्यु हुने गरेको अफ्रिका महादेशका विभिन्न देशमा पुगेर रक्तदाता अर्जुन मैनालीले रगत दान गर्दै आएका छन् ।
हाल अमेरिकामा बस्दै आएका मैनालीले अफ्रिकाका देशहरुमा रगतको चरम अभाव हुने गरेको जानकारी पाएपछि त्यहाँका मलावी, युगान्डा,  इथियोपिया, रुवाण्डा लगाएत देशमा पुगेर रगत दान गर्दै आएका हुन् ।
उनले यस बर्ष इथियोपियामा फेब्रुअरी १९, रुवान्डामा जुन १२ मा रक्तदान गरे । ‘त्यहाँका गरिब तथा विपन्न महिलाहरुले रगत नपाएर ज्यान गुमाइरहेको थाहा पाएपछि मन थाम्नै सकिनँ’ मैनालीले भने ‘रगतकै अभावले कसैले पनि जीवन गुमाउनु नपरोस् भन्ने भावनाले विश्वभरका युवाहरुलाई रक्तदानप्रति प्रेरणा जगाउने प्रयास गरिरहेको छु ।’ रक्तदाता मैनालीले लगातार पन्ध्र-सोह्र घण्टासम्मको यात्रा गरेर अफ्रिका पुग्दाको कठिनाई सुनाउँदै भने ‘मेरो रगतले कसैले नयाँ जीवन पाउने कुराबाट असाध्यै खुसी लाग्छ ।’
संसारमै उच्च मातृ मृत्युदर रहेको अर्को अफ्रिकी देश कङ्गोमा सेप्टेम्बर ११, २०१९ मा रक्तदान गर्न भिसा नपाएपछि रक्तदाता मैनाली केन्या जान लागेका हुन् । यसअघि संसारका सोह्र वटा देशमा गएर रक्तदान अभियान सञ्चालन गर्दै आएका मैनालीले यतिबेला रक्तदान गर्नकै लागि अमेरिकाबाट कङ्गोमा एक दिनको लागि जाने आफ्नो उद्देश्यलाई पनि त्यहाँका अधिकारीहरुले शंकाको दृष्टिले हेरेकोमा दुखेसो गरेका छन् । ‘कङ्गोको किसानगानीकी युवती जीता अन्वाङ्गाले तपाईंको सम्वेदनशील योजना त छैन नि ? ’ आफुलाई उनले शंकाले सोधेको सुनाउँदै भने ‘सुरुमा त्यहाँको रक्तसंचार सेवाको संयोजक चेरुबिन बोङ्गोलाई पनि त्यस्तै भान भएछ । पछि त कङ्गो कन्सुलेट न्यूयोर्कले मेरो पासपोर्ट एक महिनासम्म राखेर अगष्ट २८ मा भिसा बिना नै फिर्ता गरे।’ ख्यातीप्राप्त रक्तदाता मैनालीले त्यसपछि सेप्टेम्बर ११ मा रक्तदान गर्न जान सेप्टेम्बर ३ मा बल्ल केन्याको भिसा पाएको बताए ।
केन्या रेडक्रसका महासचिव अब्बास गुलेटले केन्यामा चाहिने भन्दा आधा मात्रै रगत उपलब्ध हुने गरेको बताए । नैरोबी विश्वविद्यालयकी विद्यार्थी अंमिना मिशेलले भने आफु रक्तदान गर्न सुइसँग डराउने गरेको बताइन् । उनले रगत दान गरेपछि विरामी हुने चिन्ताले रक्तदान कहिल्यै नगरेको बताएकी थिइन् । ‘अब म ति युवाहरुकै सामुन्ने अमेरिका देखी १२ हजार किलोमिटर टाढाको केन्यामा गएर रक्तदान गर्दछु र तिनिहरुलाई नियमित रक्तदान गर्न हौषला प्रदान गरेर आउछु’ मैनालीले भनेका छन ।
‘विकसित देशमा रक्तदान घट्न नदिन र विकाशोन्मुख देशमा बढाउने उद्धेश्यले रक्तदान उत्प्रेरणा गराउन म केन्या जाँदै छु’ भनेर एयरपोर्ट हिँड्दै गर्दा रक्तदाता मैनालीले इमेलबाट समाचार पठाएका हुन । मैनालीले अफ्रिकामा रक्तदान उत्प्रेरणा गरी रहदाको बिचमा एप्रिल २० मा क्यानडाको नेपाली समुदायमा पुगेर रक्तदान गर्न हौषला पुर्याएका थिय । रक्तदाता मैनालीले १९८७मा नेपालबाट रक्तदान सुरु गरी भारत, अष्ट्रेलिया, मकाउ, थाइल्यान्ड, एक्वाडोर, हैटी, बेलायत, बर्मुडा, आयरल्यान्ड, संयुक्त राज्य अमेरिका लगाएत १६ देशमा हालसम्म १ सय ७१ पटक रक्तदान गरिसकेका छन् । उनले दान गरेको रगतले मात्रै ५सय १३ जनासम्मालाई बचाउन सहयोग हुन्छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!