Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

राति १० बजेपछि देउसी/भैलो खेल्न रोक

काठमाडौँ — सरकारले राति १० बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्‍याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देउसी/भैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ ।

सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयहरुले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसी/भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।

‘सार्वजनिक शान्तिसुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न जिल्ला सुरक्षा समिति काठमाडौंले निर्णय गरेको छ,’ प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’ प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षामा खलल पुर्‍याएको आरोपमा कारबाही गरिने उनले चेतावनी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले चाडपर्व मर्यादित र व्यवस्थित रुपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए । ‘शान्तिसुरक्षा र सार्वसाधारणको निजी जीवनमा नकारात्मक असर नहुने गरी सांस्कृतिक चाडपर्व तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छौं,’ एसएसपी सुवेदीले भने, ‘कसैले देउसी/भैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको आबरणमा कुनैपनि व्यक्ति वा संस्थासँग लिखित वा मौखिक रुपमा जबर्जस्ती चन्दा माग गरेको पाइए त्यसमाथी पनि कडा कारबाही हुने छ ।’

तिहारको समयमा पटका, आतासबाजी, रकेट जस्ता बारुद तथा विस्फोटकजन्य वस्तु ओसारपसार तथा बेचबिखन गर्नेमाथि समेत नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए । बारुदजन्य पदार्थ ओसारपसार तथा बिक्रिवितरण नियन्त्रण गर्न सादा पोशाक र गस्तीसहितको प्रहरी टोली नै खटिएको छ । महानगरीय प्रहरी कार्यालयले राजधानी भित्रने थानकोट, बल्खु, साँखु, साँगालगायत नाकामा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरले पनि सांस्कृतिक पर्वका नाममा हुनसक्ने उत्श्रृंखल गतिविधि नियन्त्रणमा कडाई गर्न प्रहरीलाई निर्देशन दिएको बताए । source:ekantipur

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!