काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा गोर्खा सैनिक खटिने भएका छन् । आगामी मंगलबार सिंगापुरमा हुने उनीहरु बिचको बार्तामा गोर्खा सैनिकले सुरक्षा दिने भएको हो । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

सो बार्तामा दुई नेताको सरक्षा गोर्खा सैनिकले गर्ने भएको जनाइएको छ । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।
यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साग्रिला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

गोर्खाहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिने भएकाले सो बार्तामा पनि गोर्खा नै रोजाइमा परेका हुन् । अति सम्बेदनशिल कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुने भएकोले सा महत्वपुर्ण वार्ताको सुरक्षा जिम्मा गोखाएले पाएका हुन् ।

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् । आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।

ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

यो पनि पढ्नुहोस

तल प्रतिकृया दिनुहोस