Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरुहेडलाइन

शहीदको बलिदानीले लोकतन्त्र विरोधी शक्ति परास्त : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताएका छन् ।

शहीद दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणा शासन विरुद्ध विं सं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै उनीहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरे ।

‘पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।’

दशकौं अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्चा श्रद्धान्जली व्यक्त गरेको ठहरिने सन्देशमा उल्लेख गरेका छन् ।

‘यस परिप्रेक्ष्यमा म देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आव्हान गर्दछु’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

यसैबीच प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । शहीद दिवसका अवसरमा काठमाडौंको लैनचौरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देशमा व्याप्त रहेको भ्रष्टचार नियन्त्रण गर्न सबै आ–आफनो ठाउँबाट जुट्नुपर्ने बताए ।

उनले हरेक क्षेत्रबाट भ्रष्टाचार नियन्त्रण गर्न सके सर्वसाधारणले सुख पाउनेमा जोड दिए । प्रधानमन्त्री ओलीले सरकार कसैसँग पूर्वाग्रही नभएको भन्दै विकास र समृद्धका लागि सबै राजनीतिक दल जुट्न आग्रह गरे । प्रधानमन्त्री ओलीले शहीदको शालिकमा पुष्पगुच्छा अर्पन गरेका थिए ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!