Namasteholland, News, Information and Technology

News from Netherlands. Nepali news. world news. Entertainment news.

समाचारहरु

सात जनाको हत्या भएको स्थान नजिकै भेटियो युवकको शव

पाँचथरको मिक्लाजुङ्मा सात जनाको हत्या भएको स्थान नजिकै एक युवकको शव भेटिएको छ ।

झुन्डिएको अवस्थामा मानबहादुर माखिमको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

उनले भने, ‘घटना नजिकै युवक झुन्डिएको अवस्थामा फेला परेको छ । थप अनुसन्धान भइरहेको छ ।’ मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको थियो । बजार क्षेत्रबाट दुईसय मिटर मात्र टाढा रहेको ठाउँमा भएको सामूहिक हत्याको अनुसन्धानमा खटिएको प्रहरीका लागि झुण्डिएको अवस्थाको शव थप रहस्यमय बनेको छ ।

प्रहरीको प्रारम्भिक अनुमानमा यो हत्यामा एकजनाको मात्र संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको थियो ।

हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन् ।

तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन
सामुहिक हत्याको थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।
उक्त घटनाको विस्तृत अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका बरिष्ठ प्रहरी उपरीक्षक शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जानकारी दिएको छ ।
स्रोतका अनुसार घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पनि गर्ने छ ।

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!