मनोरन्जनहेडलाइन

हाम्रो फिल्मका समस्या : बाबुराम भट्टराई

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  

बाबुराम भट्टराई
हामी राज्य पुनःसरचना गर्ने अभियानमा रहिरहँदा र नेपाली चलचित्र सर्जकहरु नेपाली चलचित्रको कथात्मकतामा पुनःसंरचना गर्ने अभियानमा संलग्न भैरहँदा हामी समानान्तर यात्रामा छौं जस्तो लागेको छ। मैले पनि अनुभूति गरेको नेपाली चलचित्रसँग सम्बन्धित तथ्य के हो भने नेपाली चलचित्रहरुले नेपालको भूगोल, जनजिवन, मनोविज्ञान र चुनौती र संघर्षलाई कमैमात्रामा प्रतिनिधित्व गरे। त्यसैको उपजको रुपमा नेपाली अधिकांश चलचित्रहरुले कमैमात्र नेपाली दर्शकहरुको साथ पाएको छ। यसपक्षमा ध्यान पुर्‍याउन सकेको खण्डमा हामीले चलचित्रमा गुणस्तरको विश्वास गर्न सक्छौ। जसलाई तपाईहरुको अहिलेको प्रयत्नले धेरै योगदान पुर्‍याउने छ भन्ने मलाई लागेको छ।

मैले पछिल्ला दिनहरुमा केही नेपाली चलचित्र हेर्ने समय निकालेको थिए र त्यसैको आधारमा भन्न सक्छु कि हाम्रो चलचित्रको आधार समस्या भनेको श्रृजनात्मक समस्या हो। चलचित्रलाई वौद्धिक उत्पादनको रुपमा व्यवसायी र सर्जकहरुले आफ्नो दृष्टिकोण बनाएको खण्डमा चलचित्र समाज, राष्ट्रको विकास र उत्थानमा प्रभावशाली हुनेछ। मनोरञ्जन एउटा प्रक्रिया हो जो चलचित्रको, सफल कथात्मक प्रस्तुतिमा हासिल हुन्छ तर मनोरञ्जन मात्रै सम्पूर्ण मानेर अन्य महत्वपूर्ण पक्षलाई बेवास्ता गर्दा चलचित्रले सामाजिक स्वीकार्यता हासिल नगर्ने तथ्य हामीलाई भन्दा तपाईहरुलाई वढी ज्ञात होला। तर एउटा नेपाली चलचित्रको दर्शकको हैसियतले मैले अगामी दिनहरुमा नेपाली चलचित्रलाई वस्तुवादी, व्यवहारिक तथा सम्वेदनशीलताको सशक्त प्रस्तुतीको रुपमा हेर्न पाउँ भन्ने तपाईहरुसँग आग्रह गर्न चाहन्छु।

सामन्तवादी राज्यले चलचित्रलाई मनोरञ्जनको साधन हो भनेर नित्तान्त नौटङ्कीहरुको पेशा वनाईदिएको थियो। तर अवको जनपक्षिय राज्यले चलचित्रलाई सामाजिक मनोवैज्ञानिकको उत्पादनको रुपमा मूल्याङकन गर्दछ। चलचित्रले समाजिक मनोवैज्ञानिकलाई प्रभाव पार्न सक्दछ र यसको व्यवसायिक संरचना नाफामुलक , श्रृजनात्मक उत्पादन हो भन्ने तर्फ मेरो ध्यान पुगेको छ। तपाईहरुले भन्ने गरेको चलचित्र वौद्धिक उत्पादन हो भन्ने भनाईलाई जोड दिदै र तपाईहरुलाई तपाईहरुको क्रियाशिलतामा सदैव साथ दिनेछु भन्ने वचनवद्धता प्रकट गर्दछु। चलचित्रलाई वौद्धिक उत्पादनको रुपमा स्थापित गर्न चलचित्र शिक्षालाई सर्वसुलभ तथा जनताको पहुँच पुर्‍याउनु पर्दछ र चलचित्रलाई हाम्रो समाजको,एक सम्मानित संस्कृति बनाउन सक्नुपर्दछ। तसर्थ चलचित्र एकेडेमी बनाउने र चलचित्रको उच्च शिक्षा व्यवस्थापन गर्न स्पष्ट प्रक्रिया र सोच तर्जुमा गरी योजना लिएर आउनुस् म त्यसमा तपाईहरुलाई पूर्ण सहयोग गर्नेछु।

मेरो दृष्टिकोणमा चलचित्रले राष्ट्रियताको प्रवर्धन गर्दछ। चलचित्रले देशको भुगोल विभिन्न कथाहरुलाई प्रतिनिधित्व गर्ने शिलशिलामा देशलाई देशभित्रै चिनाउने तथा विदेशमा पनि चिनाउन सक्ने हैसियत राख्दछ। राम्रा नेपाली चलचित्रले नेपालीहरुलाई एउटा साझा मनोविज्ञान निर्माण गर्न पनि भूमिका खेल्छ तथा विश्वका विभिन्न ठाउँहरुमा वसिरहेका नेपालीहरुलाई आफ्नो माटोसँग नजिक गराउने काम पनि गर्दछ। यसर्थ तपाईहरुको काँधमा ठूलो दायित्व छ र साथ साथै सम्भावना पनि छ , नेपालीहरुको साझा वस्तु वन्न सक्नुहोस् र सवैमा नेपाल प्रति साझा अवधारणा वनाउन मद्दत पुर्‍याउनुहोस्।

भौतिकवादी द्वन्द्ववादमा विश्वास गर्ने हामी समाजमा द्वन्द्व हुन्छ, त्यसको व्यवस्थापन नै समाज विकासको प्रक्रिया हो भन्ने विश्वास गर्दर्छौं। त्यसकारण हाम्रो विचारमा समाजमा द्वन्द्व आधारभूत तत्व हो। त्यस्तै तपाईहरुको लागि पनि द्वन्द्व आधारभूत तत्व हो जस्तो मलाई लाग्दछ। किनकी तपाईहरुले देखाउने कथाको मूल तत्व नै द्वन्द्व हो। त्यही द्वन्द्व भित्र पात्रहरु संघर्ष गर्दछन्, संघर्षको चरम विन्दु हासिल गरेपछि त्यसको एउटा स्वरुपमा निष्कर्ष निस्कन्छ। हाम्रो राजनीतिको स्वरुप पनि लगभग त्यस्तै हो। त्यसकारण हाम्रा आधारहरु उही हुन। तसर्थ समाजसँग र जनतासँग राजनीतिको जस्तै चलचित्रको प्रत्यक्ष सम्बन्ध छ। अव तपाईहरु नै महसुस गर्नुस कि तपाईहरु कत्ति जिम्मेवार पक्ष हुनुहुन्छ। यो जिम्मेवारीलाई तपाईहरुले गहनताका साथ सधै अनुकरण गर्नु हुनेछ। म तपाईहरुसँग यही अपेक्षा गर्दछु।

पहिले गोर्खालीहरुको देश भनेर चिनियो, त्यस्तै सस्तो कामदारहरुको देश भनेर चिनियो केही हदसम्म त्यस्तै पर्यटकीय गन्तव्य देशको रुपमा चिनियो अव नेपाल राम्रा चलचित्रहरु बन्ने देश भनेर चिनियोस्। हामीले विदेशमा अरु उत्पादन निर्यात गर्न नसकेपनि चलचित्र निर्यात गर्न सकियोस् , यो अपेक्षा म तपाईहरुसँग राख्दछु र त्यसको लागि कस्तो नीति बनाउने भन्ने पक्षमा म पूर्णत सकारात्मक र सहयोगी रहनेछु।

हालै सरकारले जारी गरेको आर्थिक विकास र सम्वृद्धिको तत्कालीन कार्ययोजनामा नेपाललाई चलचित्र निर्माणको अन्तर्राष्ट्रिय केन्द्र वनाउने नयाँ सोच अघि वढाएको कुरा पनि म यहाँ स्मरण गराउन चाहन्छु। चलचित्रको निर्यातले देशको आर्थिक, सामाजिक र सार्वभौमिकता जोगाउन पनि ठूलो मद्दत पुर्‍याउनेछ, जसको निम्ति तपाईहरुको योगदानको लागि यो देश प्रतिक्षारत छ। हाम्रा चलचित्र हेरेर नेपाल भ्रमण गर्न आउने पर्यटकहरु पनि भोलीका दिनमा देख्न र सुन्न पाइयोस् , म यही कामना गर्दछु।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो अन्तराष्ट्रिय सिनेमा कार्यशालालाई दिएको मन्तव्यको सम्पादित अंश ।

स्रोत : मुभिमाण्डु

तल प्रतिकृया दिनुहोस

error: Content is protected !!