Monday, May 10, 2021
16 C
Amsterdam

कल्पना र वास्तविकता सँग गासिएको जिन्दगी, एक चोटिको नेपाली सधैंको नेपाली – शशि पौड्याल

- Advertisement -

प्रवासमा बस्ने गैरआवासिय नेपालीहरुको एक खुट्टा कर्मभुमिमा रहेको हुन्छ भने आर्को खुट्टा जन्मभुमिमा । ब्यावहाँरले हामी एनआरएनहरु कर्मभुमिमा बाधिएका छौ तर मन र मस्तिस्कमा जन्मभुमि मै रहेका हुन्छौ । दिनमा हामी कर्मभुमीमा हुन्छौ भने रातमा हामी जन्मभुमिको सपनामा परिणत हुन्छौ । यस्तै कल्पना र वास्तविकतामा झेलिएका एकजना नेपाली समाजका प्रतिष्ठित सामाजिक अभियान्तासँगको कुराकानीमा आधारित यो लेखले अधिकांस एनआरएनहरुको मर्म र भावनालाई समेट्न सक्छ । बिहान सबेरै मोबाईलमा कल आउछ । टेलिफोन उठाएर के छ खबर, के गर्दै हुनुहुन्छ भनि प्रश्न गर्ने क्रममा उँहाले जवाफ दिन्दै भन्नु हुन्छ । “के गर्नु त्यतिकै टेलिभिजन हेर्नि बस्नी । बाहिर माइनस १० डिग्री चिसो छ । बिजिनेस ब्यापार कोरोना लकडाउनले ठप्प छ । जिन्दगी यस्तै रहेछ कहाँ देखि कहाँ पुग्यो । के गरम के गरम जस्तो हुन्छ तर अर्कोको देशमा बसिएको छ न भाषा मिल्छ न सँस्क्रिती मिल्छ । छरछिमेकसँग पनि पराइ भएर बस्ने ठाउँ रहेछ यहाँ त । मन भरि कुरा खेलिरहन्छन । झन कोरोना लकडाउनको बखतमा आफ्नो देश र इष्टमित्रको पनि धेरै सम्झना आउदो रहेछ । आफ्नो घरभरी परिवार भए पनि अत्यहार लागेर आउदो रहेछ । दिल खोलेर रुन मन लाग्छ तर यहाँ न दिल खोलेर रुने मान्छे नै पाईन्छन न दिल खोलेर हास्ने मान्छे नै । भौतिक रुपमा केहि को कमि छैन । आफ्नो परिवारलाई आनन्दले पुग्ने फराकिलो घर र गार्डेन पनि छ । घर अगाडि गाडी अनि घर भित्र हिटर पनि छ जाडो खानु पर्दैन । कपडा धुने, भाडा माझ्ने र घर सफा गर्ने मेसिन पनि छन दु:ख गर्नु खासै पर्दैन । खान लगाउन पनि पुगेकै छ कुनै समस्या छैन तर पनि मनमा खुशी छैन । कता कता केहि कुरा मिस भएको र तिनै अतितका दिनहरु, आफु हुर्केको पढेको र खेलेको ठाउँ र साथीहरुको याद आइरहन्छ । ओल्ला घरे साहिली आमाले ए बाबु चिया खान्छस भनि बोलाएको स्वार र त्यो गुलियो दुधचिया अनि खेताघरे बा ले ए केटा आइज सुन्तला पाकेका छन टिपेर अफुले पनि लैजा र हामीलाई पनि छोड्दे भन्दै मायालु शब्दले बोलाएका अनि गुरु बा ले ए केटा राम्रोसँग पढ है नत्र भोली दु:ख पाउलास भनि दिएका सुझाब र मार्गदर्शनहरुले आज मलाई नेपाल तिरै निम्त्याइ रहेको छ । जे हुन्छ हुन्छ यहाँको सप्पै छोडेर नेपाल मै जाउ कि जस्तो हुन्छ घरि घरि । भनिन्छ ४० वर्षको पुगियो भने मध्य जीवन संकट (mid-life crises) ले लाइफलाई गम्भिर दोधारमा पुर्याइदिन्छ रे । ४० काटेको पनि ५,६ वर्ष पुगिसक्यो । मध्य जीवन संकटले पनि अब त छोडिसक्नु पर्ने हो कि जस्तो पनि लाग्छ । तैपनि कता कता मध्य जीवन संकट (mid-life crises) ले छोडि नसकेको हो कि जस्तो पनि भान भैरहेको छ । नेपाल छोडेको पनि २०, २२ वर्ष पुगेछ । समयले डाडो काटेको पनि थाहै भएन । जन्नभुमिमा भन्दा कर्मभुमिमा बढि बसिन लागेछ । सबै छोडेर नेपाल मै जाउ भने पनि मैले खोजेको नेपाल छैन अरे भन्छन । त्यहा पनि आमुल परिवर्तित आएर यहि जस्तो भयो भन्दा खै के जानु जस्तो पनि हुन्छ । फेरि मेरा केटाकेटीहरु नेपाल जान मान्दैनन । उनिहरु यतै हुर्के यतै खेले यतैको कुरा मन पराउन थाले । बुढाबुढी एक्लै नेपाल जाउ भने पनि बुढी केटाकेटी छोडेर जान मान्दिनन । म एक्लो मान्छे नेपाल गएर बस्न त सकुला तर बिरामी भै हालियो भने आफ्नो परिवार अफुसँग नहुँदा मनले मान्दैन । आफ्नो स्वास्थ पनि त्यति राम्रो छैन । फ्याट्ट केहि भै हाल्यो भने परिवार पनि देख्न नपाईने हो कि भन्ने डर । अर्को कुरा नेपालका उतिबेलाका साथीहरु पनि सबै बिदेश चापि सके । यसो सोचेरा ल्याउँदा नेपाल जाँदैमा आत्मशान्ती मिल्छ भन्ने ढुक्क त छैन । र पनि किन हो कुन्नी मलाई त मेरो देश, जन्मठाउँ र अतितका दिनहरुले सार्है सताइ रहेकोछ । ” उँहाको वेदनाले मलाई सत्यकथामा आधारित एउटा किताब तिर ध्यानाकर्षण गर्‍यो र यो काहानी अफुआँफैमा मात्र सिमित नभएर यसले समस्त प्रवासी (नेपाली)हरुको मर्म बोकेको जस्तो लाग्यो । दोस्रो विश्वयुद्ध पश्च्यात औधोगिक बिकास तिब्र रुपमा भएकाले नेदर्ल्याण्डमा कामदारहरुको ठुलो माग भएकोले स्पेन, इटाली, पोर्तुगल र अलिपछि आएर टर्की, मारोक्को,सुरिनाम, चाइना आदी इत्यादी बाट मानिसहरु रोजगार गर्न ठुलो संख्यामा नेदर्ल्याण्ड भित्रिएका थिए । यसरी नेदर्ल्याण्ड भित्रिएका पहिलो पुस्ताको सपना ‘केहि वर्ष नेदर्ल्याण्डमा काम गरि पैसा कमाएर आफ्नै देश तर्फ फर्किने थियो । ’ त्यसैले यिनिहरु भैतिक रुपमा नेदर्ल्याण्डमा भए पनि मन र मस्तिस्कमा आँफै देशमा हुने गर्थे तर कालान्तरमा यिनिहरु फर्केर आफ्नो देशमा प्राय गएनन र नेदर्ल्याण्डमा नै जीवन बिताए र बिताउँदै पनि छन । कारण के थियो भने यिनिहरुका छोराछोरीहरु बाबुआमाको जन्मभुमी जान चाहेनन र जन्मभुमी पनि २०, ३० वर्षको अन्तरालमा परिवर्तित भयो । आधा जीवन नेदर्ल्याण्डमा बिताएर आफ्नो जन्मभुमीमा फर्केकाहरुले पनि आफुले सोचे बमोजिमको बातावरण, व्याबस्था र परिस्थिती नपाएको हुँदा हुँदा त्यहा आत्मासन्तोष नपाएर पुन: नेदर्ल्याण्ड नै फिर्ता भएर आफ्नै छोराछोरी र नातिनातिनाहरुको नजिकै बसी जीवन बिताएका उदाहरणहरु धेरै छन । कल्पनाको संसारले जतिनै पच्छ्याए पनि वास्तविक संसारलाई आफ्नो संसार बनाउन सक्नु प्रवासिहरुको चुनौती हो । नेपाली समाजमा हुर्केका पहिलो पुस्तका गैरआवसिय नेपालीहरुलाई समाज अपरिहार्य हुन्छ । मर्दा र पर्दा समाज नै चाहिन्छ भन्ने बातावरण हुर्किएका हुनाले आपसी सद्भाव, भाईचाराको सम्बन्ध, हार्दिकता र सम्मान एकताबद्ध समाजका खम्बा हुन । हाम्रो समाजलाई राम्रो समाज बनाउन सबैको योगदान चाहिन्छ । हामी नेपाललाई सुखी र सम्रिद्ध बनाउन लागि परेका छौ तर हाम्रो समाजलाई सभ्य र सम्मानित बनाउन पनि बिर्सनु भएन । सभ्य, सम्मानित र एकताबद्ध समाजको निर्माण गर्यौ भने आत्मसन्तुष्टी यहि सम्भव छ र कल्पनाको संसार लाई हाम्रै समाजको वास्तविकतामा ढाल्न सकिन्छ । #हाम्रोसमाजराम्रोसमाज#

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!