Friday, September 17, 2021
18.9 C
Amsterdam

शून्यसँग नृत्यमा निमग्‍न मृत्यु

- Advertisement -

सडकमा हाँस्दै कुदिरहेका ससाना स्कुले नानीहरू कहाँ खेल्दै होलान् आज ? केटाकेटीले पहिलो प्रेमीलाई उपहार रातो गुलाफ दिन पाए कि पाएनन् होला ? पहिलो प्रेमपत्र प्रेमिकालाई दिन पाए कि पाएनन् होला ? 

एकाएक यी सहरहरू चिहानघारीजस्ता बिराना लाग्न थालेका छन् ।  सडकहरूमा अब शून्यले नयाँ नृत्य गरिरहेझैं लाग्छ । सडकका दायाँबायाँ उभिएका यी ल्याम्पपोस्ट हुन् कि कुनै रिसाहा देवताको श्राप ? ल्याम्पपोस्टबाट खसिरहेको हेलोजनको पहेँलो प्रकाश हो कि पीताम्बर ?

रित्ता सडकका दायाँबायाँ लहरै उभिएका पातबिनाका यी रूखहरू हेर्दा प्रेतात्माका छायाहरूले कवाज गरिरहेको जस्तो लाग्छ । एकाएक सहरबाट एउटा लय हराएको जस्तो लागेको छ । अचानक ओपेराबाट धून हराउँदाको जस्तो रित्तोपन आभास भएको छ । हिजोसम्म आफैंलाइ कतै छोपिरहेको जस्तो लाग्ने यो सहरको कोरसबाट आज आफैं गायब भएको जस्तो खालीपनको अनुभूति भएको छ । यस्तो लाग्छ, बल्दाबल्दै ताराहरू थाकेर अचानक निभिगए । फगत शून्यसँग युगल नृत्यमा मग्न छ मृत्यु । मृत्यु यस्तरी मन्त्रमुग्ध भएर नृत्य गरिरहेको कहिले देखिएको थिएन । मृत्युको यो भयानक नृत्यले बारम्बार सम्झाउँछ ‘जिन्दगी लम्बी नहीं बडी होनी चाहिए बाबु मोसाए’ ।

सडकमा हाँस्दै कुदिरहेका ससाना स्कुले नानीहरू कहाँ खेल्दै होलान् आज ? तिनीहरूको त्यो प्रेमिल हाँसो जब पर्खालभित्र थुनिन्छ, त्यति बेला रात हुन घाम डुब्नु नपर्ने रहेछ, तब अन्धकारको पर्दा आफैं खस्ने रहेछ । लाग्छ, मृत्युलाई केटाकेटीको हाँसो पनि मन पर्दैन । स्कुले केटाकेटीले आफ्नो पहिलो प्रेमीलाई उपहार दिन किनेको रातो गुलाफ दिन पाए कि पाएनन् होला ? पाब्लो नेरुदाका प्रेम कविताको किताबसँगै राखेको पहिलो प्रेमपत्र आफ्नी प्रेमिकालाई दिन पाए कि पाएनन् होला केटाकेटीले ? साँच्चै मृत्युलाई प्रेम गरेको मन पर्छ होला ?

जब युगल सपनाहरू, बैंसालु रहरहरू, उत्ताउला चाहनाहरू सडक गल्लीबाट हराउँछन्, तब ती सडक, गल्लीहरू मसानघाट जाने बाटोजस्तै एक्लो र सुनसान लाग्दा रहेछन् । सधैं उठिरहने हातहरू गायब छन् । नित्य सदृश्य हुने मुस्कानहरू गायब छन् । प्रेमका आलिंगनहरू गायब भएका छन् । समग्रमा बस्तीबाट बस्तीको प्राण गायब छ । सहरबाट जीवन गायब छ । फूलबाट सुगन्ध गायब छ । मृत्यु उल्लासमय नृत्यमा निमग्न भएका बेला जीवन भयले आक्रान्त भएर ऐकान्तिकता खोजिहिँड्दो रहेछ । इतिहासको यो घडीमा मृत्यु शून्यसँग युगल नृत्यमा निमग्न छ । शून्यमा शून्यसरी बिलाउँदै गएको छ जीवनको दादागिरी । हिजोसम्म लाग्थ्यो, मानिसले जीवनबाट मृत्युलाई हटाइसकेको छ तर आज मानिसको हृदयभरि मृत्युको नृत्यको आँधीबेहरी व्याप्त छ ।

आफन्तको महाप्रस्थानमा गुन्जिरहेको बिलौनाको धीमा आवाज आकाशैभरि भरिएजस्तो । जस्तो कि, मध्यरातको नीरवतामा मसानघाटतर्फ गइरहेको मलामीले एकोहोरो शंख फुकिरहेको छ । मानिसहरू कफिन बनाउँदा बनाउँदै रात बिताइरहेका छन् । तिनका निद्रामिश्रित आँखामा मृत्युले चियाइरहेको जस्तो देखिन्छ । कफिन बनाउँदा थाकेका ती हातहरूमा कुनै दिन कुची र रङहरू परे भने कस्तो भयानक चित्र बनाउँछन् होला ? दुखित कफिन मेकरहरू । बाँच्नेहरूले आफ्नो आँसुसमेत खटाई–खटाई रुनुपरेको छ । मानिसका मनहरू यतिविघ्न रोएको कहिले देखिएको थिएन । बाँच्नेहरूको हृदय यतिधेरै चिरिएको कहिले देखिएको थिएन । आफ्नो पिताको लासमा चढाउन ल्याएको फूल छोराको हातमै सुकेर झरिगयो । हजुरआमाको बिदाइमा नातिनीले लेखेको प्रेम कविता आँसुले पखालिदियो । अन्तिम बिदाइमा बेस्सरी अँगालोमा बेरेर रुने मन गरेकी प्रेमिकाको अँगालो शीतांग छ । आँखामा जमेका छन् हिउँका तालहरू । आँसु पनि खटाई–खटाई झारिरहेका छन् मानिसहरू । अर्केस्ट्राबाट एकएक गर्दै धूनहरू बिलाउँदै गएको जस्तो खालीपन बाँकी छ केवल । शून्यसँग युगल नृत्यमा मग्न छ मृत्यु यति बेला ।

सिंगै जीवन समातेर हिँडेकी आफ्नी बूढी प्रेयसीका हातहरू आज अचानक छाड्नुपर्दा छातीमा कसरी भुमरी परिरहेको होला ? डिमेन्सियाको रोगी बूढोलाई अब एक्लै छाडेर जानुपर्दा ती बूढी प्रेयसीको हृदयमा कति चिरा परेको होला ? तर मृत्युलाई यी सारा भावावेगहरू शून्यजस्तै लाग्छन् र ऊ शून्यसँग युगल नृत्यमा निमग्न छ । हरेक रात सँगै हिँडेको यो रात कि त यस्तो परचक्री जस्तो लागेको होला । आफ्ना पाइतालाले सुस्तरी छामेका यी गल्ली गोरेटाहरूमा भयानक रहस्य सुतेको जस्तो लाग्न थालेको छ । भयले काँपेका छन् पाइलाहरू । डरले काँपेका छन् ओठहरू । हाँसोले रातै देखिने गालाहरू त्रासले नीला भएका छन् । आकाश पनि नीलो । सायद मृत्युको रङ पनि नीलो । मृत्यु मानिसको टाउकोमाथि आकाशजस्तै गरी फैलिएको छ । रातमा बाटो हराउँदा बाटो देखाउने यी लाटोकोसेराका आँखाहरूमा देखिएझैं लाग्छ षड्यन्त्रको भद्दा चित्र । हिजोसम्म जो प्रिय थिए आज तिनै मानिस कुनै शत्रुको हल्काराजस्तो ठान्छन् । हिजो जसलाई देखेर मुस्कुराउँथे मानिस आज तिनैलाइ देख्दा तर्सने भएका छन् । हिजोसम्म कर्कश लागेको आवाजको आज कति विघ्न न्यास्रो लागेको छ । गल्लीका ती हल्लाखोर आवारा आज आएर गल्लीमा हल्ला गरिदिए पनि हुनेजस्तो मानेर पर्दाभित्रबाट चियाउँछन् मानिसहरू । चोर नै सही तर बाटोमा कोही त हिँडिदेओस् ताकि अर्को कोही पनि यो सहरमा बाँचिरहेको छ भन्ने भावले आफ्नो हृदयलाई थुमथुम्याउन सकियोस् । कस्तो पीडादायी नृत्य गरिरहेको मृत्युले ?

कसलाई सुनाइरहेको होला त्यो प्यालिस्तिनी पागल आफ्नो पुरानो राष्ट्रवादी कविता ? कहाँ बसेर समयको समीक्षा गर्दै होलान् ती तिब्बतका मानवअधिकारवादी अभियन्ताहरू ? कसलाई पो बुझाउलान् उनीहरूले संकलन गरेका हस्ताक्षरहरू ? त्यही पत्रमा मृत्युले आफ्नो हस्ताक्षर गरिदियो भने ? बारुदको गन्धबाट भर्खरै निस्केर आएको सिरियाली शरणार्थीलाई मृत्युले आफ्नो अँगालोमा कसिदियो भने उसको संघर्ष बेकार हुनेछ । बमको छर्राको निको नभइसकेको उसको घाउ देखेर केही दया देखाइदियो भने त ठिकै छ । तर मृत्यु कठोर बनिदियो भने उसले हृदयमा साँचिराखेको मुक्तिको गीत व्यर्थै खेर जानेछ । मृत्युलाई साँच्चै मुक्तिको गीत मन पर्छ कि पर्दैन होला ? सहरको दृश्यबाट अचानक धेरै कुरा हराएका छन् ।

साँच्चै रातो प्रकाशको अन्धकारबाट निस्केर उज्यालो अनुभव गरिरहेका होलान् या मृत्युको नृत्यमा आफ्नो गीत गाइरहेका होलान् यो सहरका नगरवधूहरू ? तिनीहरूलाई रातो प्रकाशको अन्धकारमा छाडेर जाने प्रेमीहरूले अहिले तिनका शरीरमा प्रेमको अत्तर छर्किरहेका होलान् या मृत्युको नृत्यलाई सरापिरहेका होलान् ? त्यही नृत्यमा नगरवधूले आफ्नो व्यथाको सिम्फोनी खोज्न थाले भने यी सारा मानवतावादी आख्यानहरू किन पढ्नु मानिसले ?

साँच्चै युद्धमा रमाउनेहरूले कहाँ राखेका होलान् यति बेला ती मिसाइल र एटम बमहरू ? कता राखेका होलान् ती क्षेप्यास्त्र, पनडुब्बी वा बख्तरबन्द गाडीहरू ? तिनका बन्दुकहरूले कसकसलाई आफ्नो शत्रु देखिरहेका होलान् ? ती जो आफ्नो विजयमा मात्रै रमाउँथे आज यो पराजयले कस्तो मनोदशामा बसेका होलान् ? एउटा युद्ध हारिरहेको समयमा अर्को युद्धको तयारी गरिरहेका होलान र ? ती जो हिजोसम्म एकअर्कोसँग लडाइँमा थिए, मृत्युको आँखामा परेनन् भने भोलि फेरि लडाइँमै फर्केलान् वा विजयको उल्लास सँगसँगै मनाउलान् । ती सिपाहीहरू जसलाई मार्नुमा जित हुन्छ भनेर पढाइएको थियो, आफैं आज बाँचे भने भोलि फेरि मार्न तम्सेलान् वा मृत्युको आराधना गर्लान् । ती जो देउताका नाममा एकअर्कोलाई मार्न तम्सन्थे, मृत्युको कहरबाट जोगिइहालेछन् भने पुरानो उन्माद त्याग्छन् होला कि हर्षोल्लास मनाउँछन् होला बाँच्नुको बोधले । जब मृत्यु आफैं थाकेर सुस्ताउँछ, त्यति बेला फेरि अराजक धर्मभीरु उदाउलान् या जयजयकार होला मानवतावादी कविको ?

मानिस यति सारै कमजोर कहिले देखिएन सायद । यति धेरै निरीह पनि कहिले भएन सायद । मानिसलाई यस्तो असहाय देख्दा पनि नपग्लने रहेछ मृत्युको हृदय । साँच्चै मृत्युको हृदय कस्तो हन्छ होला ? मानिसको हृदय यो समयमा यसरी बिलौना गरिरहेको छ, जस्तो कि सारा पुस्तकबाट एकाएक सारा ज्ञान बिलाइगएको छ । जस्तो कि, हिँड्दाहिँड्दै आधा बाटोबाट विज्ञान हराएको छ । जस्तो कि, प्रार्थना गर्दागर्दै आँखाबाट देउता हराएको छ । जस्तो कि, अचानक क्षितिजबाट घाम बिलाएको छ । मृत्युले नृत्य गरिरहेको समयमा फुको, डेरिडा, किसिन्जर, फुकुयामा, सात्र, कामु, मार्क्स, बुद्ध सबै मलीन अनुहार लगाएर टुलुटुलु हेरी मात्र रहन्छन् । सिद्धान्तको व्याख्यामा मृत्युलाई आजसम्म कसैले अटाउन सकेका रहेनछन् । यो समयमा यिनले लेखेका पुस्तकका अक्षरहरू पनि मृत्युको तालमै नाचिरहेका भेटिन्छन् । न त अब्बास किरोस्तामी, मार्टिन स्कोरसेसे, क्वेन्टिन टारान्टिनो, स्टिभान स्पिलबर्ग, क्रिस्टोफर नोलानका दृश्यहरूमा हृदयको बेचैनी साम्य हन्छ । तिनका दृश्यका प्रकाशमा पनि मृत्यको छाया नै नृत्यमग्न भइरहेझैं लाग्छ । यो समयमा शून्यसँग मृत्युको युगल नृत्य मात्रै व्याप्त छ हरेक संगीतमा, धूनमा, दृश्यमा ।

मृत्युले जब निमग्न भएर नृत्य गर्छ, त्यति बेला लासहरूले पनि आफ्नो पालो कुरेर बसिदिनुपर्छ । मृत्युले जब उल्लासमय नृत्य गर्छ, त्यति बेला लासहरू पनि आफू अट्ने जमिनका निम्ति बिन्ती गरिरहेका हुँदा रहेछन् । मृत्यु यति बेला शून्यसँग युगल नृत्यमा निमग्न छ ।

source:kantipur

- Advertisement -
- Advertisement -
- Advertisement -

ताजा समाचारहरु

error: Content is protected !!